• Jana Kura

    • 2026-01-12

    काठमाडौँ, २८ पुस — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको बन्दसत्रमा समसामयिक राजनीतिक प्रस्ताव पेस गर्नुभएको छ।
    काठमाडौँको भृकुटीमण्डपमा आज सम्पन्न बन्दसत्रमा प्रस्तुत उक्त प्रस्तावमा पछिल्लो ‘जेन–जी’ प्रदर्शनपछि सिर्जित राजनीतिक परिस्थिति र त्यसले विशेष महाधिवेशनको आवश्यकता किन औँल्यायो भन्ने विषयलाई मुख्य रूपमा समेटिएको छ। साथै, विशेष महाधिवेशनको वैधानिक आधार, नेपाली कांग्रेसको ऐतिहासिक परम्परा, वर्तमान राजनीतिक परिदृश्य र विशेष महाधिवेशनमार्फत अघि सार्नुपर्ने नीतिगत सङ्कल्पसमेत प्रस्तावमा उल्लेख गरिएको छ।
    प्रस्तावमा आगामी आमनिर्वाचन, उन्नत लोकतन्त्र र बहुलवादी समाजको विकास, निर्वाचनपूर्व गठबन्धनको प्रवृत्तिको अन्त्य, सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रण, साथै निर्वाचन प्रणालीमा सुधारका विषयहरूलाई प्राथमिकताका साथ समेटिएको छ।
    महामन्त्री थापाले कांग्रेसलाई समयअनुकूल रूपान्तरण गर्दै जनअपेक्षाअनुसार अघि बढाउन विशेष महाधिवेशन निर्णायक हुने धारणा प्रस्तावमार्फत अघि सार्नुभएको छ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै