• Jana Kura

    • 2026-01-09

    काठमाडौँ, २५ पुस।
    देशको बाह्य आर्थिक अवस्था सन्तोषजनक देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्मको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु खाता र शोधनान्तर दुवै बचतमा रहेका छन् भने विप्रेषण आप्रवाह र विदेशी मुद्रा सञ्चिति उल्लेख्य रूपमा बढेको छ।
    राष्ट्र बैंकका अनुसार पाँच महिनाको अवधिमा चालु खाता रु तीन खर्ब ५८ अर्ब ८३ करोड र शोधनान्तर स्थिति रु चार खर्ब २१ अर्ब ८९ करोड बचतमा रहेको छ। विदेशी विनिमय सञ्चिति बढेर रु ३२ खर्ब एक अर्ब ४७ करोड पुगेको छ, जुन अमेरिकी डलरमा २२ अर्ब १३ करोड बराबर हो। यस्तो सञ्चितिले करिब १८ दशमलव २ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता राख्ने राष्ट्र बैंकले जनाएको छ।
    यस अवधिमा विप्रेषण आप्रवाह पनि उल्लेख्य रूपमा बढेको छ। नेपाली रुपैयाँमा ३५ दशमलव ६ प्रतिशत र अमेरिकी डलरमा २९ प्रतिशतले विप्रेषण बढेको छ। मङ्सिर महिनासम्म कूल विप्रेषण रु आठ खर्ब ७० अर्ब ३१ करोड पुगेको छ भने मङ्सिर महिनामा मात्र रु एक खर्ब ८३ अर्ब १८ करोड देशभित्र भित्रिएको छ।
    प्रतिवेदनअनुसार पछिल्लो पाँच महिनामा निर्यात ५८ दशमलव २ प्रतिशतले र आयात १५ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ। यद्यपि, राजस्व सङ्कलन, बजेट खर्च र कर्जा विस्तार भने अपेक्षाकृत कमजोर देखिएको छ। यस अवधिमा सरकारको कुल खर्च रु पाँच खर्ब ६४ अर्ब ४६ करोड र राजस्व परिचालन रु चार खर्ब छ अर्ब ३० करोड रहेको छ।
    मुद्रास्फीति पनि नियन्त्रणमै देखिएको छ। वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति एक दशमलव ६३ प्रतिशतमा सीमित रहेको छ। विस्तृत मुद्राप्रदाय तीन दशमलव ७ प्रतिशतले बढेको छ भने वार्षिक रूपमा यस्तो वृद्धिदर १२ दशमलव ९ प्रतिशत रहेको छ।
    बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन तीन दशमलव ९ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा एक दशमलव ९ प्रतिशतले वृद्धि भएको छ। वार्षिक आधारमा निक्षेप वृद्धिदर १३ दशमलव ९ प्रतिशत र कर्जा वृद्धिदर छ दशमलव छ प्रतिशत रहेको छ।
    यसैगरी अन्तरबैंक दर दुई दशमलव ७४ प्रतिशत रहेको छ भने ९१ दिन अवधिको ट्रेजरी बिलको औसत ब्याजदर दुई दशमलव ३७ प्रतिशत रहेको छ। वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर तीन दशमलव ६६ प्रतिशत र कर्जाको औसत ब्याजदर सात दशमलव २६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै