काठमाडौँ, २८ पुस ।
सन् २००७ मा ‘इन्डियन आइडल–३’ को विजेता बनेपछि विश्वभरका नेपालीको मन जित्न सफल गायक तथा अभिनेता प्रशान्त तामाङ अब हामीमाझ रहनु भएन । आइतबार बिहान ४२ वर्षको उमेरमा हृदयघातका कारण उहाँको निधन भएको खबरले दार्जिलिङदेखि काठमाडौँसम्म र संसारभर छरिएका नेपालीभाषी समुदायलाई गहिरो शोकमा डुबाएको छ।
भारतीय टेलिभिजनको ठूला मञ्चमा उभिएर नेपाली भाषी पनि विजेता बन्न सक्छन् भन्ने आत्मविश्वास जगाउने नाम हो—प्रशान्त तामाङ। उहाँको जितपछि नेपालीभाषी युवाहरूले भारतीय रियालिटी शोमा सहभागिता जनाउने बाटो झन् फराकिलो बन्यो।
इन्डियन आइडलको अन्तिम १० मा प्रवेश गरेपछि नेपाल र दार्जिलिङमा ‘प्रशान्त तामाङ जिताऔँ अभियान’ नै चलेको थियो। त्यस अभियानमा जोडिनुभएका गीतकार तथा निर्माता राजेश घतानी ती दिन सम्झँदै भन्नुहुन्छ,
“हामी दार्जिलिङ पुगेर कार्यक्रम गर्यौँ। संकलित रकम उहाँलाई जिताउन खर्च ग¥यौँ। त्यो नेपालीभाषीको साझा सपना थियो।”
उक्त अभियानमा निल डेभिड कटवाल, गायक बाबु बोगटी, पत्रकार विदुर खतिवडालगायत नेपालबाट धेरै कलाकार तथा सर्जकहरू सहभागी थिए। दार्जिलिङमा आयोजित विभिन्न कार्यक्रममा प्रविशा अधिकारी, विल्सन विक्रम राईलगायत कलाकारहरूको समेत उपस्थिति थियो।
इन्डियन आइडलपछि तामाङ नेपाली चलचित्र ‘हिम्मत–२’ मार्फत पार्श्वगायनमा प्रवेश गर्नुभयो। निर्देशक दीपक श्रेष्ठ भन्नुहुन्छ,
“विश्वभरका नेपालीले माया गरेको आवाज नेपाली चलचित्रमा हुनैपर्छ भनेर मैले उहाँलाई ल्याएँ। उहाँमा कुनै घमण्ड थिएन, केवल सरलता र नेपालीपन थियो।”
पछि उहाँ अभिनेता रूपमा चलचित्र ‘गोर्खा पल्टन’ मा देखिनुभयो। सो चलचित्रको गीत ‘जाउँला रेलैमा सरर’ अत्यन्त लोकप्रिय बन्यो। त्यसपछि उहाँले ‘अँगालो यो मायाको’, ‘परदेशी’, ‘परदेशी–२’, ‘निशानी’, ‘पहिचानको लडाइँ’ लगायत चलचित्रमा अभिनय गर्नुभयो। ‘पहिचानको लडाइँ’ उहाँको अन्तिम नेपाली चलचित्र बन्यो।
ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोको श्रृंखला ‘पाताल लोक’ बाट भारतमा पनि उहाँको अभिनय चर्चा चुलियो। त्यसपछि भारतीय अभिनेता सलमान खानको चलचित्र ‘ब्याटल अफ गलवान’ मा अभिनय गर्नुभयो, जुन आगामी वैशाख ४ मा प्रदर्शन हुँदैछ।
व्यक्तिगत जीवनमा भने प्रशान्त तामाङ अत्यन्त पारिवारिक हुनुहुन्थ्यो। कोभिड–१९ का कारण आमालाई गुमाएपछि उहाँ छोरीसँग अझ नजिक हुनुभयो। निर्माता घतानीका अनुसार,
“श्रीमती काममा हुँदा तीन वर्षकी छोरीको हेरचाह उहाँ आफैँ गर्नुहुन्थ्यो। छोरीमा आमाको प्रतिविम्ब देख्नुहुन्थ्यो।”
सन् २०११ मा एयरहोस्टेस गीता थापासँग विवाह गर्नुभएका तामाङकी छोरी सन् २०२२ मा जन्मिएकी हुन्। आमाको अन्त्येष्टिमा सहभागी हुन नपाएको पीडा उहाँको मनमा सधैँ रहिरह्यो।
दिल्लीमा रहँदा उहाँको निधन भएको हो। हाल उहाँको शव दिल्लीको दिनदयाल अस्पतालमा पोस्टमार्टम भइरहेको छ। जन्मथलो दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि गरिने जनाइएको छ।
गीत, स्वर र अभिनयमार्फत नेपालीपनलाई विश्वसामु चिनाउने प्रशान्त तामाङ आज हामीबाट टाढा भए पनि, उहाँको आवाज, संघर्ष र सम्झना हरेक नेपालीको मनमा सधैँ जीवित रहनेछ।