नविना श्रेष्ठ
काठमाडौं, पौष २७, २०८२/
लेखिका सविता खनालको नवीन कृति ‘कायरा’ को लोकार्पण तथा परिचर्चा समारोह राजधानीको धुम्बाराहीस्थित होटेल स्मार्ट दरबार मा सम्पन्न भएको छ।
समकालीन नेपाली साहित्यमा नयाँ संवेदना, साहस र आत्मसंघर्षका कथाहरूलाई उजागर गर्ने उपन्यास कायरा ले जीवनका सूक्ष्म प्रश्नहरूसँग पाठकलाई साक्षात्कार गराउने प्रयास गरेको छ। महिला, पुरुष वा अन्य पहिचानभन्दा पनि “एक व्यक्ति” को रूपमा मानिसलाई हेर्ने दृष्टिकोणले कृतिले गहिरो बहसको ढोका खोलेको वक्ताहरूले बताएका छन्।
कार्यक्रमको सभापतित्व अल्केमी प्रकाशनका घनश्याम खड्का ले गर्नुभएको थियो भने एरावती प्रकाशनका संस्थापक अध्यक्ष रामदेव पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। विशेष अतिथिमा महाकाव्यकार डा. नवराज लम्साल रहनुभएको थियो।
प्रमुख अतिथि पाण्डेले कायरा ले नेपाली साहित्यमा समावेशिता र मानवीय संवेदनालाई सशक्त रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै यस्ता कृतिहरू अझ धेरै प्रकाशन हुन आवश्यक रहेको धारणा राख्नुभयो।
कृति विमोचनपछि लेखिका सविता खनाल ले कायरा लेख्दाको अनुभव साझा गर्दै आजको युवा पुस्ता, विद्यार्थी, शिक्षक, अभिभावक तथा सबै पाठकका लागि यस्ता पुस्तकहरू आवश्यक रहेको बताउनुभयो। जीवनका जटिल अनुभूति र आत्मसंघर्षलाई कलममार्फत प्रस्तुत गर्न आफू प्रेरित भएको उहाँको भनाइ थियो।
कार्यक्रममा जयन्ता पोखरेल, साझा प्रकाशनका डा. कृष्ण सुवेदी (भारद्वाज मित्र), राष्ट्रिय जनसाहित्य सङ्घ नेपालका महासचिव युनिशा पाण्डे, ब्लु डाइमण्ड सोसाइटीकी अध्यक्ष युनिशा पाण्डे, प्रगतिशील नेपाल सङ्घका उपाध्यक्ष समिर सिंह, राष्ट्रिय जनसाहित्य सङ्घ नेपालकी अध्यक्ष प्रज्ञा नर्मदेश्वरी लगायत साहित्यकार, कवि, उपन्यासकार, निबन्धकार तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
साहित्यिक बहस, भावनात्मक प्रस्तुति र गहिरो संवादसहित सम्पन्न यो कार्यक्रमले कायरा लाई केवल एउटा उपन्यास नभई जीवन बुझ्ने संवेदनशील दस्तावेजका रूपमा स्थापित गरेको सहभागीहरूको धारणा थियो।
