काठमाडौँ, २५ पुस।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) अनिवार्य रूपमा लागू गर्न सूचना प्रविधि विभागलाई निर्देशन दिनुभएको छ।
सञ्चार मन्त्रालयअन्तर्गत सूचना प्रविधि विभागमा आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खरेलले सरकारी सेवा प्रवाहलाई चुस्त, पारदर्शी र प्रभावकारी बनाउन सबै मन्त्रालय तथा निकायलाई कागजरहित बनाइनुपर्नेमा जोड दिनुभयो।
“अहिलेकै कार्यकालभित्र जिआइओएमएसलाई हरेक मन्त्रालयमा अनिवार्य गराउने गरी काम गर्न आग्रह गर्दछु,” मन्त्री खरेलले भन्नुभयो, “यसले सेवा प्रभावकारिता बढाउने र सुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।”
उहाँले मुलुकको विकास र आर्थिक समृद्धिका लागि सूचना प्रविधिको प्रयोग अपरिहार्य रहेको उल्लेख गर्दै सूचना प्रविधि विभागमा नीतिगत तथा संरचनागत सुधार आवश्यक रहेको बताउनुभयो।
हाल अर्थ मन्त्रालय र सञ्चार मन्त्रालयमा जिआइओएमएस लागू भइसकेको छ। सरकारी कार्यालयका कामलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, छरितो, मितव्ययी र पारदर्शी बनाउने उद्देश्यसहित यो प्रणाली सुरु गरिएको जनाइएको छ।
सूचना प्रविधि विभागद्वारा विकास गरिएको जिआइओएमएसमार्फत विद्युतीय रूपमा टिप्पणी–आदेश, निर्णय प्रक्रिया, चिठीपत्र दर्ता तथा चलानी, हाजिरी, बिदा र काज स्वीकृति, अभिलेख व्यवस्थापनलगायत कार्यहरू गरिनेछन्। यस प्रणालीमा अनिवार्य रूपमा विद्युतीय हस्ताक्षर प्रयोग गर्ने व्यवस्था गरिएको छ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री खरेलले तोकिएकै मितिमा निर्वाचन हुने र त्यसपछि गठन हुने संसद् तथा सरकारमा युवाको उल्लेखनीय सहभागिता रहने विश्वास व्यक्त गर्दै यसले सूचना प्रविधि क्षेत्रको विकासमा सकारात्मक योगदान पुग्ने बताउनुभयो।
कार्यक्रममा सञ्चार मन्त्रालयकी सचिव राधिका अर्यालले विभागका सेवाहरूलाई अझ प्रविधिमैत्री र प्रभावकारी बनाउन आग्रह गर्नुभयो। त्यस्तै, सूचना प्रविधि विभागका महानिर्देशक चन्द्र साहले नीतिगत र संरचनागत सुधारमार्फत विभागका सेवाहरूलाई अझ प्रविधिमैत्री बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।