काठमाडौँ, २४ पुस / गृहमन्त्री ओमप्रकाश अर्यालले संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन अनिवार्य शर्त भएको बताउनुभएको छ।
मानवअधिकार सङ्गठन तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज काठमाडौँमा आयोजना गरेको ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता’ शीर्षकको कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले निर्वाचनबिनाको लोकतन्त्र कल्पनै गर्न नसकिने स्पष्ट पार्नुभयो।
उहाँले मानवअधिकार र पीडितको पक्षमा सरकार सधैँ प्रतिबद्ध रहने उल्लेख गर्दै भन्नुभयो, “म दण्डहिनताको पक्षमा छैन। मुलुकलाई कालोसूचीमा पर्ने अवस्था सिर्जना हुने गरी दण्डहिनतालाई प्रश्रय दिइने छैन।”
गृहमन्त्री अर्यालले आगामी निर्वाचनको सुरक्षाका लागि सरकारले सबै आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, जेन–जी पुस्तालाई मताधिकार प्रयोग गर्न र राज्यको मूलधारमा सहभागी गराउने वातावरण बनाइएको पनि उहाँले बताउनुभयो।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगकी प्रतिनिधि माया शर्माले लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन नै एकमात्र विकल्प भएको धारणा राख्नुभयो।
त्यस्तै, नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले निष्पक्ष र स्वतन्त्र निर्वाचनको वातावरण निर्माणमा सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।