काठमाडौं, २३ पुस ।
समाजसेवी तथा जेएम–३० ग्रुपका अध्यक्ष शैलेन डंगोलले टोखामा क्रियाशील स्थानीय पत्रकारहरूलाई सहयोग प्रदान गर्नुभएको छ । सत्य, तथ्य र जिम्मेवार सूचना समाजसम्म पुर्याउने कार्यमा सक्रिय पत्रकारहरूको हौसला बढाउने उद्देश्यले उहाँले टोखालाईभ डट कम र जनकुरा डट कममा आबद्ध पत्रकारहरूलाई पोशाक वितरण गर्नुभएको हो ।
सहयोग कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले पत्रकारहरू समाजका अभिन्न अंग भएको उल्लेख गर्नुभयो । उहाँले लोकतन्त्र सुदृढ बनाउन तथा आम नागरिकलाई सही सूचना प्रवाह गर्न पत्रकारहरूको भूमिका अमूल्य रहेको बताउनुभयो । साथै, आगामी दिनहरूमा पनि पत्रकारहरूप्रति सकारात्मक साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सामाखुसीस्थित जनकुरा डट कमको कार्यालयमा आयोजित कार्यक्रममा नेकपा एमालेका नेता कुलचन्द्र अधिकारी, नेपाली कांग्रेस टोखा वडा नं. २ का इकाइ सभापति हेराकाजी महर्जन डंगोललगायत जेएम–३० ग्रुपका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
स्थानीय पत्रकारितालाई प्रोत्साहन गर्ने यस्ता पहलले समाजमा जिम्मेवार, सत्य र विश्वसनीय सूचना प्रवाहलाई थप मजबुत बनाउने विश्वास कार्यक्रममा सहभागीहरूले व्यक्त गरेका छन् ।