काठमाडौँ, २४ पुसः काठमाडौँ महानगरपालिकाले जयबागेश्वरी क्षेत्रका ७५ घरलाई मौलिक तथा परम्परागत स्वरूपमा रुपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ । कामपा–८ अन्तर्गत पर्ने उक्त क्षेत्रमा बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरी रु नौ करोड चार लाख ८९ हजार ३७७ मा सम्झौता भई काम सुरु गरिएको हो ।
यस योजनाअन्तर्गत जयबागेश्वरी मन्दिरदेखि सेतोढोकासम्मको करिब २९० मिटर सडकखण्डका दायाँ–बायाँ रहेका घरहरूको सडकतर्फको मोहडालाई मल्लकालीन वा राणाकालीन शैलीमा रुपान्तरण गरिने काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वामित्व व्यक्ति वा संस्थाको भए पनि काठमाडौँ उपत्यकाभित्र इतिहासको निश्चित समयावधिमा विकास भएका वास्तुशैलीलाई परम्परागत मानिन्छ । यसमा मल्लकालदेखि राणाकालसम्मका संरचना समेटिन्छन् ।
वडा नं ८ का अध्यक्षसमेत रहनुभएका सङ्गतले भन्नुभयो, “मल्लकालीन शैलीअनुसार घरको पेटी, कार्नेस, बलेँसी, पाखा वा पाली, झिँगटीको छानो जस्ता भाग राखिनेछ । गारोमा प्रयोग गरिएका इँटा बाहिरबाट देखिने खालका हुनेछन् । साथै एकमुखे, तीनमुखे र पाँचमुखे गरी बिजोर सङ्ख्यामा कुँदिएका बुँट्टेदार परम्परागत झ्यालहरू जडान गरिनेछन् ।”
उक्त क्षेत्रमा सडकसँग जोडिएका करिब २५० घरमध्ये सडक वा खुला स्थानबाट देखिने घरको अगाडिको भागको स्वरूप परिवर्तन गरिने उहाँले जानकारी दिनुभयो ।
यस सडकखण्ड वरिपरि सेतो ढोका (टुयु ध्वाखा), ढोकासिंह नरसिंह फल्चा, ताम्रेश्वर फल्चा, ताम्रेश्वर महादेव मन्दिर, परम्परागत इनार, ढोका छेँ फल्चा, बच्छलेश्वरी डवली फल्चा, मूर्तिसहितको गम्ती महादेव मन्दिर, कुमारी द्यः दुद्ध स्तुप, रामलंका फल्चा, नवग्रह मूर्ति, मठा फल्चा, मृत्युञ्जय महादेव, ब्रह्मा मन्दिर, नरसिंह भगवान मन्दिर, नवदुर्गा फल्चा र डवली, जयबागेश्वरी मन्दिर, सुन्धारालगायत धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वका मूर्त सम्पदाहरू अवस्थित छन् ।
यो क्षेत्र लिच्छवीकालीन सहरका रूपमा परिचित छ । यही ऐतिहासिक पहिचानलाई कायम राख्दै मौलिक स्वरूप पुस्तान्तरण गर्नु योजनाको मुख्य उद्देश्य रहेको जनाइएको छ । यस क्रममा वडाले करिब तीन रोपनी क्षेत्रफलमा फैलिएको यःपुखु (मनपर्ने पोखरी) को पुनःनिर्माणसमेत गरिरहेको छ ।
महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा वास्तुकलात्मक महत्वका परम्परागत शैलीका निजी तथा संस्थागत स्वामित्वका भवनहरूको स्वरूप संरक्षण गर्न यस्तो कार्यक्रम कार्यान्वयनमा ल्याएको जनाएको छ ।