काठमाडौँ, २४ पुस / नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ।
नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतका अनुसार निर्वाचनका सन्दर्भमा तयार पारिएको एकीकृत सुरक्षा योजना–२०८२ सरकारबाट अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेको छ। सोही योजनाअनुसार निर्वाचन सुरक्षाका लागि सेना परिचालन गरिने उहाँले जानकारी दिनुभयो।
“एकीकृत सुरक्षा योजनाले मार्गनिर्देशन गरेअनुसार निर्वाचनको करिब एक महिना अघिदेखि फिल्डमा सेना परिचालन हुनेछ,” प्रवक्ता बस्नेतले भन्नुभयो।
एकीकृत सुरक्षा योजना सरकार तथा राष्ट्रिय सुरक्षा परिषद्बाट स्वीकृत भइसकेको छ। निर्वाचनका क्रममा नेपाली सेनाले तीन चरणमा सुरक्षा जिम्मेवारी निर्वाह गर्नेछ। निर्वाचनपूर्व मतपत्र छपाइको सुरक्षा, विमानस्थल, कारागारलगायत महत्वपूर्ण संरचनाको सुरक्षा नेपाली सेनाको मुख्य जिम्मेवारी रहनेछ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँगको समन्वयमा महत्वपूर्ण संरचनाको सुरक्षा व्यवस्थापन गरिने सेनाले जनाएको छ। साथै, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न चारवटै सुरक्षा निकाय तथा जिल्ला प्रशासनसँग सहकार्य गर्दै तल्लो तहसम्म एकीकृत तालिम र अभ्यास सञ्चालन गरिनेछ।
मतदानका दिन नेपाली सेना तेस्रो घेरामा रही निर्वाचनस्थल तथा केन्द्रमा खटिनेछ। यस क्रममा राजनीतिक दल, उम्मेदवार, मतदाता तथा निर्वाचनमा संलग्न कर्मचारीको सुरक्षाको पूर्ण प्रत्याभूति दिलाइने सेनाले जनाएको छ।
विगतका निर्वाचनझैँ यसपटक पनि देशका विभिन्न स्थानमा सुरक्षा बेस स्थापना गरिनेछ। मतदान सम्पन्न भएपछि मतपेटिकाको ढुवानीदेखि मतगणनास्थलको सुरक्षासम्मको जिम्मेवारी नेपाली सेनाले बहन गर्नेछ।
निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न हाल प्रदेशस्तरमा सुरक्षा गोष्ठीहरू सञ्चालन भइरहेका छन्। गोष्ठीबाट प्राप्त सुझावका आधारमा परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गरी सरकारले थप सुरक्षा प्रबन्ध मिलाउने सेनाले जनाएको छ।
सबै सुरक्षा निकाय, स्थानीय प्रशासन तथा जनप्रतिनिधिबीचको समन्वय र सहकार्यमा निर्वाचन सुरक्षा प्रदान गर्न नेपाली सेना पूर्ण रूपमा तयार रहेको सेनाको भनाइ छ।