काठमाडौँ, २१ पुस /सरकारले जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले जेनजी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न समाजलाई अनुदान दिने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकले नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गरेको छ। साथै, नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारीपत्र (एमओयू) पनि स्वीकृत गरिएको छ।
बैठकले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश–२०८२ स्वीकृत गरेको छ। त्यस्तै, वन तेस्रो संशोधन नियमावली–२०८२ पनि मन्त्रिपरिषद्बाट पारित भएको छ।
यसैगरी, सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा ओमबहादुर खड्कालाई बढुवा गरेको छ। नेपाल लेखा परीक्षण सेवा समूहीकरणतर्फ उपमहालेखापरीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गरिएको छ।
मन्त्रिपरिषद् बैठकले समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्यमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ।