• 2021-11-06

    टोखा लाइभ ।२०७८ कार्तिक १९ गते ।

    काठमांडूौं। नयाँ वर्ष नेपाल संवत् ११४२ आज टोखा नगरपालिकामा विविध कार्यक्रम गरी मनाइएको छ । विभिन्न बाजागाजा र सांस्कृतिक झाँकीसहितको ‘न्हुँदया भिन्तुना’ पदयात्रा निकाली विशेष रुपमा नयाँ वर्ष मनाइएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८०२) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुआत गराउनुभएको थियो ।

    टोखा नगरपालिका वडा नं ३ र २ मा नेवार समुदायले नेपाल सम्वत् ११४२ को स्वागतमा टोखा नेवा गुठीको नेतृत्वमा र्‍याली निकालेका छन् । टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारीले पानसमा बत्ती बालेर शंखधर साक्खा को तस्वीरमा मार्ल्यापण गर्दै नेपाल सम्वत्‌का विशेषता जानकारी गराउँदै टोखा नगर क्षेत्रमा परिक्रमा गरेको हो ।

    टोखा भेगमा बसोवास गर्ने सम्पूर्ण नेवार समुदायले पनि नेपाल सम्वत्‌को स्वागतमा विभिन्न कार्यक्रम गरेको टोखा नेवा :गुठीका अध्यक्ष रमेश नापितले जानकारी दिए ।

    नेपाल सम्वत्‌का विषयमा टोखा नगरपालिका मेयर प्रकाश अधिकारीले नेपाल संवतको विशेषता बारेमा जानकारी गराउँदै यो सबैको सम्वत् भएको बताए । नेपाली जनतालाई ऋण मुक्त बनाउने राजाले चलाएकाले यो सबैको नेपाल सम्वत् भएको उनले बताए । कतिपयले नेवारी सम्वत् भन्ने गरेपनि त्यस्तो नभएको अधिकारीको ठहर छ।

    टोखा बजार क्षेत्रमा नगरपरिक्रमा, बॉसुरी, धिमेबाजा र बैण्ड बाजा बजाई प्रदर्शन गरियो । एका बिहानैदेखि टोखा नगरपालिकामा नेवारी समुदायसँग सम्बन्धित संघसंस्थाले विभिन्न कार्यक्रम गरेका छन् । टोखा नगरपालिकाको विभिन्न स्थानमा पनि नेपाल सम्वत्‌को स्वागतमा विभिन्न कार्यक्रमहरु भएका छन् ।

    नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा त्रिरत्न मानन्धरले टोखा लाइभलाई जानकारी दिनुभयो ।

    “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उहाँले भन्नुभयो ।

    विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ ।

    नेपाल संवत् प्रचलन सम्बन्धमा एउटा किंबदन्ती पनि प्रसिद्ध छः भक्तपुरका राजालाई ज्योतिषीले काठमाडौँको लखुतीर्थ टेकुदोभानबाट साइत हेरेर बालुवा ल्याए सुन बन्छ भनी सुनाएपछि भक्तपुरका राजाले बालुवा लिन टेकुदोभानस्थित लिखुतीर्थमा कामदार पठाएका थिए ।

    कामदारले बालुवा लैजान लागेको देखी साख्वाले बालुवाको दोब्बर पैसा दिन्छु, भक्तपुरकै खोलाको अर्को बालुवा राजाकहाँ लगिदेऊ भनेपछि बालुवा साख्वाकै घरमा छाडेर गए । बालुवा सबै सुन भएकाले सुन बेचेर गरीब जति सबैको ऋण तिरिदिई राजालाई अनुरोध गरेर नेपाल संवत् सुरु गरे ।

    गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको मूल्याङ्कन गर्दै २०५६ साल मङ्सिर २ गते तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो ।

    आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ। कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन्। मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा . डा रामचन्द्र गौतम बताउँछन्। आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रशन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक जन विश्वास छ। हेरकाजी डंगोलले सन्चालन गरेको उक्त अवसरमा नेपाल संवत् ११४२ को पात्रो लोकार्पण पनि गरेका थिए।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै