• Jana Kura

  • 2026-04-11

त्रिशूली (नुवाकोट), २८ चैतः नयाँ वर्ष–२०८३ को अवसरमा नुवाकोटमा ‘रिङ रेस्लिङ न्यू इयर ब्लास्ट प्रतियोगिता’ आयोजना हुने भएको छ।

आगामी वैशाख १ गते दुप्चेश्वर महादेव मन्दिर परिसरमा सञ्चालन हुने उक्त प्रतियोगिता नेपाल रिङ रेस्लिङ सङ्घ र यसको नुवाकोट शाखाको आयोजनामा हुन लागेको हो।

शुक्रबार विदुरमा आयोजित पत्रकार सम्मेलनमार्फत देशभरका चर्चित १५ भन्दा बढी रेस्लरहरूको सहभागिता रहने जानकारी दिइएको छ।

सङ्घका महासचिव कमल तामाङ (नुवाकोटे टाइगर)का अनुसार प्रतियोगिताले नुवाकोटको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्दै मोफसलमा रेस्लिङ खेल विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

नुवाकोटमा यसअघि ‘आरडब्लु समरस्ल्याम’ तथा ‘रेस्लिङ महाभीडन्त’ जस्ता प्रतियोगिता सफलतापूर्वक सम्पन्न भइसकेकाले यसपटकको ‘न्यू इयर ब्लास्ट’ अझ रोमाञ्चक र आकर्षक हुने आयोजकको दाबी छ।

प्रतियोगितामा नुवाकोटे टाइगर, साइन, डेबिट, चट्टान, किङ–रोबर्ट, उर्गेन, ठागू, तनु, आकृति सुजल, एक्स–हिरो, सिजे–वल्डलगायत एक दर्जनभन्दा बढी रेस्लरबीच प्रतिस्पर्धा हुने प्रलाद थापा ले जानकारी दिनुभयो।

प्रतियोगितामार्फत दुप्चेश्वर क्षेत्रसहित नुवाकोटका ओझेलमा परेका धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचार–प्रसारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

‘हेभी वेट’ पुरुष विधामा विजेताले गोल्डेन बेल्टसहित रु ७५ हजार प्राप्त गर्नेछन् भने महिला च्याम्पियनसिपतर्फ विजेताले बेल्टसहित रु ५० हजार पाउनेछन्। यस्तै, पुरुष ट्यागटिम हार्डकोर विधामा रु ६० हजार र त्रिपल थ्रेट विधामा रु २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ।

यसअघि पनि सङ्घले शिवपुरी–७ सुर्यचौर, गुर्जे (शिवपुरी–६) लगायत स्थानमा विभिन्न रिङ रेस्लिङ प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै