टोखा, २८ चैतः ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व बोकेको टोखामा परम्परागत बिस्का नखः (बिस्केट जात्रा) आगामी वैशाख १ गतेदेखि ४ गतेसम्म चार दिनसम्म मनाइने भएको छ।
टोखा विस्केट जात्रा मूल व्यवस्थापन समिति ले आज पत्रकार सम्मेलन गरी नेवार समुदायको बाहुल्य रहेको टोखामा जात्रालाई भव्य र व्यवस्थित रूपमा सञ्चालन गरिने जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा समितिका सहसंयोजक गणेशमान श्रेष्ठ ले जात्राको व्यवस्थापनलाई सुदृढ बनाउन शान्तिसुरक्षा, स्वयंसेवक परिचालन, पार्किङ, यातायात, बाजागाजा तथा रथ व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको जानकारी दिनुभयो।
परम्पराअनुसार चैत मसान्तबाटै सुरु हुने जात्रामा भक्तजनहरू बिहान बागद्वार मा स्नान गर्न जाने गर्दछन्। त्यहाँबाट चण्डेश्वरी हुँदै सपनतीर्थ मन्दिर पुग्ने चलन रहेको छ।
सपनतीर्थ परिसरमा रहेको सिद्धपोखरीमा नयाँ वर्षको दिन वैशाख १ गते बिहानै स्नान गर्ने परम्परा छ। मसान्तको साँझ सपनविनायक, चण्डेश्वरी र मसानकालीका रथ ‘जाली द्यो’का रूपमा बाजागाजासहित निकालिने र सम्बन्धित टोलहरूमा लगिने गरिन्छ।
नयाँ वर्षको दिन साँझ रथहरू गाउँ परिक्रमा गराई सपनविनायकको रथ यलागः टोल, चण्डेश्वरीको रथ थलागः टोल र मसानकालीको रथ भूतखेलमा राखिन्छ। वैशाख २ गतेदेखि ४ गतेसम्म क्रमशः सिन्दूरजात्रा, जीवित गणेश कुमारीको आगमन, विभिन्न देवताका रथ परिक्रमा तथा पूजाआजा गरी जात्रा विशेष रूपमा मनाइन्छ।
जात्राको अन्तिम दिन वैशाख ४ गते सबै रथ गाउँ परिक्रमा गरी सम्बन्धित देवालयमा भित्र्याएपछि जात्रा समापन हुन्छ भने वैशाख ५ गते बिहान लिङ्गो ढालेर औपचारिक रूपमा विसर्जन गरिन्छ।
सो अवसरमा प्रकाश अधिकारी ले टोखाभित्रका ऐतिहासिक तथा सांस्कृतिक पर्वलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताउँदै जात्रा व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको जानकारी दिनुभयो।
जात्राको अवसरमा टोखा नगरपालिकाले एक दिन सम्पूर्ण नगर क्षेत्रमा तथा दुई दिन वडा नं २ र ३ मा सार्वजनिक बिदा दिने व्यवस्था मिलाएको छ।