काठमाडौँ, २८ पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर अघि बढाउन आफू दृढ रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।
आज आफूनिकट पार्टीका पदाधिकारी, जिल्ला समिति प्रतिनिधि तथा कानुन विज्ञहरूसँग भएको छलफलमा नेता कोइरालाले पार्टीभित्र देखिएका असन्तुष्टि र मतभेदलाई संवाद र सहमतिमार्फत समाधान गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो।
उहाँले पार्टी कुनै पनि हालतमा विभाजनतर्फ जान नहुने स्पष्ट पार्दै सभापति, कार्यवाहक सभापति र महामन्त्रीहरूसँग निरन्तर छलफल भइरहेको बताउनुभयो।
“पार्टी विभाजन हुन दिनु हुँदैन भन्ने विषयमा मैले नेतृत्व तहसँग स्पष्ट रूपमा कुरा राखिरहेको छु। तपाईंहरू ढुक्क हुनुस्, निरास हुने अवस्था छैन,” उहाँले भन्नुभयो।
छलफल कार्यक्रममा पार्टी उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, डा. मीनेन्द्र रिजाल, वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, योगेन्द्र अधिकारी, उपेन्द्रकेशरी न्यौपानेलगायतको उपस्थिति रहेको थियो।
नेता कोइरालाले पार्टीको दीर्घकालीन हित एकता र सहकार्यमा नै रहेको उल्लेख गर्दै सबै पक्षलाई संयमित र सकारात्मक भूमिका खेल्न आग्रह गर्नुभयो।