• Jana Kura

    • 2026-01-26

    नवलपुर, माघ १२ /आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नवलपुर क्षेत्र नं. २ बाट नेपाली कांग्रेसले ओमबहादुर घर्ती मगरलाई उम्मेदवार बनाएको छ।
    नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ केन्द्रीय कार्यसमितिका अध्यक्षसमेत रहनुभएका घर्ती मगर सामाजिक व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। समाजसेवा, समावेशी विकास र नेतृत्वदायी भूमिकामा सक्रिय उहाँलाई पार्टीले जनताको विश्वास जित्न सक्ने सक्षम उम्मेदवारका रूपमा अघि सारेको जनाएको छ।
    उम्मेदवार चयनप्रति आभार व्यक्त गर्दै घर्ती मगरले नवलपुर क्षेत्र नं. २ का आमाबुवा, दिदीबहिनी तथा दाजुभाइ, जिल्लाका अग्रज नेता–नेतृत्व, भातृ तथा शुभेच्छुक संघ–संस्थाका प्रतिनिधिहरूको साथ र सक्रियताले आफूलाई थप ऊर्जा, हौसला र आत्मविश्वास प्राप्त भएको सामाजिक सञ्जालमार्फत् बताउनुभएको छ।
    सबैको मन जित्न सक्ने, सबैलाई जोड्न सक्ने र सत्यतामा अडिग रहँदै विकास निर्माणमा समर्पित व्यक्तित्वका रूपमा उहाँ परिचित हुनुहुन्छ। नवलपुरको समग्र विकासका लागि निरन्तर लागिपरेका घर्ती मगरलाई साहसी र जिम्मेवार नेतृत्वका रूपमा स्थानीयले हेर्ने गरेका छन्।
    सबै जातजाति, भाषा, धर्म, संस्कृति र रीतिरिवाजको सम्मान गर्दै समावेशी विकासको अवधारणालाई अघि बढाउन सक्ने क्षमतावान व्यक्तित्व भएकै कारण नेपाली कांग्रेसले उहाँलाई उम्मेदवार बनाएको पार्टीको भनाइ छ।
    घर्ती मगरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित गराउन नवलपुरबासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनी सबैसँग साथ, सहयोग र समर्थनको अपेक्षा गर्नुभएको छ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै