काठमाडौँ, ५ माघ : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले चाडपर्वहरूले आपसी एकता, सद्भाव र सामाजिक सहअस्तित्व सुदृढ बनाउने बताउनुभएको छ।
तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा जारी शुभकामना सन्देशमा उहाँले प्रत्येक जातजाति र धर्मावलम्बीका मौलिक सांस्कृतिक पर्वहरूको संरक्षण आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले नेपालीहरूले आफ्नै पहिचानसहित मनाउने पर्वले आपसी एकता, सहकार्य, मित्रता र सहिष्णुतामा प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो।
सहसंयोजक नेपालले मुलुकको भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई एकतामा गाँस्ने माध्यम पर्वहरूले नै भएको विचार व्यक्त गर्नुभयो।
यसैबीच पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गर्नुभएको छ। उहाँले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले सबै समुदायका मौलिक पर्व र संस्कृतिको संरक्षण आवश्यक भएको उल्लेख गर्नुभयो। साथै, विदेशी हस्तक्षेप र तोडफोडले देश प्रभावित भएको अवस्थामा सबै जातजातिका जनता एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो।