कीर्तिपुर (काठमाडौँ), ३ माघ :
क्रिकेट सामग्री उत्पादनमा विश्वप्रसिद्ध भारतीय कम्पनी एस जी (SG) ले नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झा लाई एक वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री प्रायोजन गरेको छ।
राजधानीसहित देशका विभिन्न स्थानमा क्रिकेट सामग्रीको बिक्री–वितरण गर्दै आएको हिमालयन विल्लोको सहजीकरणमा उक्त प्रायोजन सम्झौता सम्पन्न भएको हो। हिमालयन विल्लोले शुक्रबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी गराएको हो।

कार्यक्रममा हिमालयन विल्लोका प्रमुख कार्यकारी अधिकृत प्रदीप यादवले क्रिकेटर झाका लागि एक वर्षभर आवश्यक पर्ने छ वटा क्रिकेट ब्याट, १० जोडी पन्जासहित सम्पूर्ण क्रिकेट सामग्री निःशुल्क उपलब्ध गराइने जानकारी दिनुभयो। विश्वव्यापी रूपमा चिनिएको क्रिकेट सामग्री उत्पादक संस्थाले नेपाली क्रिकेट खेलाडीलाई प्रायोजन गरेको यो पहिलो अवसर भएको यादवको भनाइ छ।
कार्यक्रममा क्रिकेटर गुलशन झाले एस जीका सामग्री प्रयोग गरी क्रिकेट खेल्नु आफ्नो बाल्यकालदेखिको सपना रहेको बताउँदै प्रायोजनप्रति आभार व्यक्त गर्नुभयो।
प्रमुख कार्यकारी अधिकृत यादवले छिट्टै एक जना महिला क्रिकेटरलाई पनि यस्तै प्रकारको प्रायोजन उपलब्ध गराउने तयारी भइरहेको जानकारीसमेत दिनुभयो।