• Jana Kura

    • 2025-11-17

     

    १ मंसिर २०८२, सोमबार

    एजेन्सी /बङ्गलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई सन् २०२४ को विद्यार्थी विद्रोहका समयमा गरिएको ‘मानवता विरुद्धको अपराध’का आरोपमा मृत्युदण्ड सुनाइएको छ। ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण–१ ले सोमबार दिउँसो सुनाएको यो फैसलालाई देशको राजनीतिक इतिहासकै सबैभन्दा ठूलो मोड मानिएको छ।

    न्यायाधिकरणले हसिना मात्र होइन, तत्कालीन प्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल–मामुन र पूर्व गृहमन्त्री असदुज्जमान खान कमललाई पनि पाँचवटै आरोपमा दोषी ठहर गरेको छ। अदालतको निष्कर्ष अनुसार, हसिनाका आदेश, उक्साहट र नियन्त्रण असफलताका कारण देशव्यापी हिंसा बेकाबु भएको थियो।

    निर्वासनमा रहँदै दोषी

    ७८ वर्षीया हसिना अहिले भारतमा निर्वासनमा छिन्। उहाँको अनुपस्थितिमै मुद्दा चलाइयो। कमल पनि भारतमै भएको विश्वास गरिएको छ। दुवैलाई फरार अभियुक्त घोषणा गरेर अदालतले प्रक्रियालाई अगाडि बढाएको थियो।

    अदालतले भनेको छ “हसिनाले दिएको उक्साहटपूर्ण निर्देशनले सुरक्षा निकाय र सत्तारूढ दलका कार्यकर्ताहरूलाई अत्याचार गर्न सक्षम बनायो।”
    उनकै आदेशमा ड्रोन, हेलिकप्टर र घातक हतियार प्रयोग गरिएको उल्लेख छ, जसले प्रदर्शनकारीहरूलाई थिच्न ठूलो भूमिका खेलेको अभियोग छ।

    पीडित परिवारको आँसु र अदालतको कठोरता

    फैसला सुनिनुअघि अदालत परिसरमा कडा सुरक्षा थियो। बर्सौंदेखि न्यायको खोजीमा भौतारिएका पीडित परिवारका केही सदस्यहरूले अदालतमै उपस्थित भएर “सबैभन्दा कडा सजाय” माग गरेका थिए।
    अदालतले पाँचवटा प्रमुख आरोप प्रमाणित गर्‍यो –

    ढाकामा प्रदर्शनकारीको सामूहिक हत्या
    भीडमाथि गोली चलाउन ड्रोन र हेलिकप्टर प्रयोग
    विद्यार्थी कार्यकर्ता अबु सैयद हत्या
    आशुलियामा शव जलाएर प्रमाण नष्ट
    चन्खरपुलमा विद्यार्थीहरूको समन्वित हत्या

    मामिलाको कागजात मात्र ८,७४७ पृष्ठ लामो छ- पीडितका बयान, जफत सामग्री र प्रमाणहरूले भरिएको।

    फैसला पछि देश तनावग्रस्त

    फैसला सार्वजनिक भएपछि हसिनाको पार्टी अवामी लिगले देशव्यापी ‘पूर्ण बन्द’ घोषणा गरेको छ।
    ढाका र आसपासका केही ठाउँमा विस्फोट, गाडीमा आगजनी लगायतका घटनाहरू भएको समाचार आएको छ।

    रक्षा पक्षको दाबी “सबै आरोप बनावटी”

    हसिनाका वकिल मोहम्मद अमिर हुसेनले भने,
    “सबै आरोप राजनीतिक उद्देश्यले बनाइएका हुन्। हसिनाले कुनै पनि हत्या वा दमनको आदेश दिएको प्रमाण छैन। हिंसा ‘अलग समूहले’ गराएको हो।”

    २०२४ अगस्टमा बङ्गलादेश छोडेर भारत पुगेकी हसिनाले त्यहीँबाट सबै आरोप अस्वीकार गर्दै आइरहेकी छिन्।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै