काठमाडौं माघ २४:क्रिकेटको सबैभन्दा लोकप्रिय फर्म्याट टि–ट्वान्टीको पुरुष विश्वकप आजदेखि भारत र श्रीलंकामा सुरु भएको छ। आगामी एक महिनासम्म चल्ने यो महाकुम्भमा विश्वका २० राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
दक्षिण एसियाली केही राष्ट्रबीचको राजनीतिक तिक्तताले यसपटकको विश्वकपमा असर भने परेको छ। सुरक्षाको कारण देखाउँदै बंगलादेशले भारत भ्रमण नगर्ने निर्णय गर्नु र विश्वकप सुरु हुनै लाग्दा पाकिस्तानले भारतसँग नखेल्ने घोषणा गर्नुले क्रिकेटप्रेमीलाई निराश बनाएको छ। यद्यपि, यी चुनौतीबीच पनि विश्वकपको रौनकता भने कम हुने छैन।
साविक विजेता भारतसहित समान दुई–दुई पटकका च्याम्पियन इङ्ल्यान्ड र वेस्ट इन्डिज तथा एक–एक पटकका विजेता पाकिस्तान र श्रीलंकालगायत २० टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिँदैछन्। प्रतियोगिताअन्तर्गत कुल ५५ खेल आयोजना हुनेछन्।
विश्वकपका खेल भारतका पाँच र श्रीलंकाका तीन गरी आठवटा स्टेडियममा हुनेछन्। भारतमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियम, कोलकाताको इडेन गार्डेन्स, दिल्लीको अरुण जेट्ली स्टेडियम, मुम्बईको वानखेडे स्टेडियम र चेन्नईको एम.ए. चिदम्बरम स्टेडियम मुख्य स्थल हुन्। श्रीलंकामा भने कोलम्बोको आर.प्रेमादासा स्टेडियम र एसएससी क्रिकेट मैदान तथा क्यान्डीको पालकेले क्रिकेट स्टेडियममा खेल हुनेछन्।
उद्घाटन दिनमै तीन खेल
विश्वकपको उद्घाटन दिन आज तीन खेल आयोजना हुँदैछन्। पहिलो खेल श्रीलंकाको कोलम्बोस्थित एसएससी क्रिकेट मैदानमा पाकिस्तान र नेदरल्यान्ड्सबीच बिहान ११:१५ बजे सुरु हुनेछ।
भारतमा आज दुई खेल हुनेछन्। कोलकाताको इडेन गार्डेन्समा समूह ‘सी’ अन्तर्गत स्कटल्यान्ड र दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज आमनेसामने हुनेछन्। नेपाल पनि यही समूहमा रहेको छ। बंगलादेशले सहभागिता नजनाएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले वरियताका आधारमा स्कटल्यान्डलाई विश्वकपमा स्थान दिएको हो। यो खेल दिउँसो ३:१५ बजे सुरु हुनेछ।
दिनको अन्तिम खेलमा घरेलु टोली भारतले अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। मुम्बईको वानखेडे स्टेडियममा बेलुका ७:१५ बजे हुने यस खेलबाट भारतले उपाधि रक्षाको यात्रा सुरु गर्नेछ। गत संस्करणपछि कप्तान रोहित शर्मा र विराट कोहलीले टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन्।
भोलि नेपाल–इङ्ल्यान्ड भिडन्त
नेपालले भने आइतबार दुई पटकको विश्वकप च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै आफ्नो विश्वकप यात्रा सुरु गर्नेछ। नेपाल र इङ्ल्यान्डबीच यो पहिलो टी–ट्वान्टी भेट हुनेछ।
नेपालले समूह चरणका सबै चार खेल मुम्बईको वानखेडे स्टेडियममा खेल्ने तालिका छ। सन् २०१४ मा पहिलो पटक टि–ट्वान्टी विश्वकप खेलेको नेपालका लागि यो तेस्रो सहभागिता हो भने लगातार दोस्रो संस्करण हो।
अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न पछिल्लो संस्करणमा नेपालले जित निकाल्न नसके पनि दक्षिण अफ्रिकासँगको खेल एक रनले गुमाउँदै नेपाली टोलीले विश्व क्रिकेटको ध्यान खिचेको थियो। उक्त संस्करणमा दक्षिण अफ्रिकालाई हराउँदै भारत च्याम्पियन बनेको थियो।
यसपटक २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह चरणपछि प्रत्येक समूहका शीर्ष दुई टोली सुपर एटमा प्रवेश गर्नेछन्। सुपर एटका खेल फेब्रुअरी २२ बाट सुरु हुनेछन्। त्यसपछि शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनल मार्च ४ र ५ मा हुनेछन् भने फाइनल मार्च ८ मा आयोजना हुनेछ।
पाकिस्तानको यात्राका आधारमा फाइनल भारत वा श्रीलंकामध्ये कुनै एक देशमा हुनेछ। पाकिस्तान फाइनलमा पुगेको खण्डमा खेल श्रीलंकामा र अन्य अवस्थामा भारतमा आयोजना हुने तालिका छ। भारतसँग फेब्रुअरी १५ मा हुने समूह चरणको खेल नखेल्ने घोषणा गरेको पाकिस्तानले अघिल्ला चरणमा भेट भए के गर्ने भन्ने विषयमा भने निर्णय सार्वजनिक गरेको छैन।