आयरल्याण्ड, २३ असोज ।
आयरल्याण्डको उत्तरपश्चिम क्षेत्रमा पर्ने डोनेगल काउन्टीमा रहेको पेट्रोल पम्पमा भएको विस्फोटमा परी कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले शनिबार जनाएको छ ।
गार्डा सिओचाना प्रहरी बलले आठ जनालाई अस्पताल भर्ना गरिएको र यस घटनाका कारण नौ जनाको मृत्यु भएको पुष्टि गरेको छ । “क्रेस्लो गाउँमा रहेको उक्त स्थानमा थप हताहतीका लागि खोजी र उद्धार कार्य जारी छ,” विज्ञप्तिमा भनिएको छ ।
विष्फोटको कारण खुल्न नसकेको र भग्नावशेषबाट खोजी कार्य जारी रहेको छ । शुक्रबारको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या रातारात तीनबाट बढेर सात पुगेको होे । आयरल्याण्डको पेट्रोल पम्प फोरकोर्ट र नजिकैको आवासीय भवनमा विस्फोट भएपछि आयरल्याण्डको आपतकालीन सेवाले रातभर उद्धार कार्य जारी राखेको थियो ।
विष्फोटपछि खिचिएको तस्वीरमा पेट्रोल पम्पको भवन ध्वस्त भएको देखिएको छ । बिस्फोटका कारण दुई तल्ले आवासीय भवन भत्किएको थियो भने नजिकैको यस्तै भवनको अग्रभाग भत्किएको थियो ।
घटनास्थलबाट करिब १५० मिटर (५०० फिट) को दूरीमा रहेको घरका बासिन्दा किरन गालाघेरले घटनामा शक्तिशाली वम विस्फोट प्रयोग गरिएको हुनसक्ने बताए । “म त्यतिबेला आफ्नो घरमा थिएँ र विस्फोटको ठूलो आवाज सुनेको थिएँ । तुरुन्तै मैले बाहिर हेर्दा शक्तिशाली बम पड्केको जस्तो थियो,” उनले बीबीसीसँग भने ।
शनिबार बिहान स्थानीय चर्चमा आयोजित एक कार्यक्रममा फादर जोन जो डफीले आफ्नो समुदाय ’शोकको सुनामी’को चपेटामा परेको बताएका थिए । बेलायतद्वारा सञ्चालित उत्तरी आयरल्याण्डसँगको सीमाको दुवैतिरबाट फायर सर्भिससहित आपतकालीन सेवाका धेरै गाडीहरू रातभर घटनास्थलमा नै रहेका थिए ।
गार्ड र नागरिक सुरक्षा पनि संलग्न थिए र कोस्टगार्डको हेलिकप्टरले केही घाइतेहरूलाई लेटरकेनी युनिभर्सिटी अस्पतालबाट राजधानी डबलिनमा लगेको थियो । सिन्ह्वा