एजेन्सी, २० माघ । बेलायत सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरणको दुरुपयोग गरी बालबालिकाको यौन दुर्व्यवहारको तस्बिर बनाउने कार्यलाई अपराध घोषणा गरेको छ। बेलायत यस्तो कानून ल्याउने विश्वकै पहिलो देश बनेको छ।
गृहमन्त्री यवेट कूपरका अनुसार बालबालिकाको यौनजन्य सामग्री बनाउन प्रयोग गरिने एआई उपकरणहरू राख्नु, सिर्जना गर्नु वा वितरण गर्नु गैरकानुनी हुनेछ। यसका साथै, एआई प्रयोग गरेर बालबालिकालाई यौन दुर्व्यवहार गर्न सिकाउने ‘पीडोफाइल म्यानुअलहरू’ राख्नु पनि अपराध मानिनेछ। यस्तो कार्यमा संलग्न व्यक्तिलाई तीन वर्षसम्मको जेल सजाय हुन सक्ने बताइएको छ।
गृहमन्त्री कूपरले स्काई न्यूजसँग कुरा गर्दै अनलाइन बाल यौन दुर्व्यवहारका घटनाहरू बढ्दै गएको बताउनुभयो। उहाँले भन्नुभयो, “एआईले यसलाई झनै बढाएको छ। अपराधीहरूले एआई उपकरण प्रयोग गरेर बालबालिकाको नक्कली तस्बिर बनाउन र उनीहरूलाई थप दुर्व्यवहारमा फसाउन सजिलो भएको छ।”
उहाँले थप्नुभयो, “यो सबैभन्दा घिनलाग्दो अपराध हो। नयाँ कानूनले बाल दुर्व्यवहारका लागि प्रयोग भइरहेका केही एआई मोडेलहरूलाई प्रतिबन्ध लगाउनेछ।”
कूपरका अनुसार अन्य देशहरूले पनि यो कानून ल्याउनुपर्ने र बेलायतले यसको नेतृत्व गरिरहेको छ।
बेलायत सरकारका अनुसार एआई उपकरणहरूले बालबालिकाको वास्तविक तस्बिरलाई ‘नग्न’ बनाउने वा अन्य बालबालिकाको अनुहार जोडेर यौन दुर्व्यवहारका तस्बिरहरू सिर्जना गर्न प्रयोग भइरहेको छ।
नयाँ कानूनले ‘अन्य पीडोफाइल’हरूका लागि डिजाइन गरिएका वेबसाइटहरू सञ्चालन गर्ने व्यक्तिलाई पनि अपराधी मान्नेछ।
बीबीसीसँग कुरा गर्दै कूपरले भन्नुभयो, “हालैको एक अध्ययनले बेलायतमा हरेक वर्ष लगभग पाँच लाख बालबालिका कुनै न कुनै प्रकारको दुर्व्यवहारको शिकार हुने गरेको देखाएको छ। सन् २०२४ मा मात्रै ३० दिनको अवधिमा एउटा डार्क वेब साइटमा तीन हजार ५१२ एआई बाल दुर्व्यवहारका तस्बिरहरू फेला परेका थिए।”
यो कानूनले बालबालिकालाई एआईको दुरुपयोगबाट जोगाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।