• Jana Kura

    • 2022-08-27

    अहिले “Keep Breathing” नामक series नेटफ्लिक्स क्यानाडाको Top 10 मा छ। भरखरै सार्वजनिक यो सर्भाइभल ड्रामा सिरिजले अझै दर्शक पाउने र ट्रेन्डिगंमै रहने शंका छैन।

    इनुभिक आसपास हवाइजहाज दुर्घटनामा परेकी एक युवती Liv (मेलिसा ब्यारेरा), जो पेशाले न्युयोर्कमा वकिल हुन्छिन्, उनले अनकन्टार जंगलमा बाँच्न गरेको संघर्ष सिरिजको मुख्य कथा हो।

    सानो निजी जहाजमा दुई अपरिचित पुरुष यात्री हुन्छन्। Liv दुई हप्ताको छुट्टी मनाउन त्यही जहाजमा अनुरोध गरेर इनुभिक उडेकी हुन्छिन्। गन्तव्य पुग्नुअघि नै जहाज बेतोडले ढुनमुनिंदै घना जंगलबीचको हिमतालमा डुब्छ।

    Liv ले दुर्घटनापछि पौडिएर निस्केको, आँखैअघि सहयात्री गुमाएको, वन्यजन्तुको आँखा छलेको, भोकप्याससँग जुधेको र प्रियजनको यादले तड्पिएको भूमिका निर्वाह गरेकी छन्।

    कतिपय दृश्यमा ऊनी बढ्तै नाटकीय लाग्छिन्, कतिपयमा भने जीवन्त!

    साहस र रोमान्च मिसिएको ‘Keep Breathing’ कसरी टुंगिन्छ र Liv ले शान्तिको सास फेर्छिन् फेर्दिनन् भन्ने कुरा ६ भाग लामो सिरिज हेरेर दर्शक आफैंले पत्ता लगाउँदा राम्रो हुन्छ।

    सिरिज विवादमुक्त भने छैन। क्यानाडाको इनुभिक आसपासको कथा भनिए पनि छायांकन अर्कै प्रान्त ब्रिटिश कोलम्बियामा गरेको र दर्शक उल्लू बनाएको आरोप लागिसकेको छ।

    नभन्दै सिरिजमा ब्रिटिश कोलम्बियाका स्क्वामिस्, विस्लर र भ्यान्कुवर क्षेत्रका दृश्य देखिन्छन्। इनुभिक शहर रहेको नर्थवेष्ट टेरिटोरिज स्वायत्त क्षेत्रका दृश्य सिरिजमा नदेखाइँदा निर्माण पक्ष आलोचित छ।

    निर्जन बस्तीमा एक्लो हुँदा कसरी जिउने र कसरी अरुको सम्पर्कमा पुग्ने भन्ने कुरा दर्शकलाई रोचक लाग्न सक्छ। यो खालका कथावस्तुमा थुप्रै फिल्म र सिरिज बने पनि यसमा पात्रको परिश्थिती, दृश्यको सम्पादन र पार्श्व संगीत चाखलाग्दो छ।

    प्रस्तुती : किस्मत भण्डारी

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै