• 2021-07-22

    टाेखा लाइभ डट कम / श्रावण ७ काठमाडौं

    नेपाल कम्युनिष्ट पार्टीका संस्थापक तथा महासचिव पुष्पलाल श्रेष्ठको आज ४२ औं स्मृति दिवस । पुष्पलाल श्रेष्ठको आज ४२ औं स्मृति दिवशको अवसरमा यस वर्ष कोरोना संक्रमणका कारण कुनै कार्यक्रम आयोजना नगरिएको पुष्पलाल स्मृति प्रतिष्ठानले जनाएको छ ।

    प्रतिष्ठानका महासचिव गङ्गालाल तुलाधरले स्मृति दिवसका अवसर प्रतिष्ठानको आयोजनामा कीर्तिपुरको चम्पादेवीमा अवस्थित पुष्पलाल स्मृति पार्कमा भने अनौपचारिक कार्यक्रम राखिएको छ । नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यसाथ नेकपा स्थापना गरेका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो

    को हुन् पुष्पलाल श्रेष्ठ ? उनको राजनीतिक जीवनीयात्रा बारे एक चर्चा
    पुष्पलाल श्रेष्ठ – नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते पूर्व २ नं. रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको माहिला छोराका रूपमा भएको थियो।

    पिता भक्तलाल २००९ सालको अखिल नेपाल न्यून वैतनिक सरकारी कर्मचारीहरूको हडतालको क्रममा एक्सन कमिटीको अध्यक्ष पनि बन्नुभएको थियो। वि.सं. १९९७ सालमा आफ्ना दाजु अमर शहीद गङ्गालाल श्रेष्ठलाई गोली ठोकी मार्नु ठीक एकदिनअघि भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई “माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस्” भन्नुभएको थियो र दाजुको यही शब्द नै पुष्पलालको निम्ति राजनीतिमा प्रवेश गर्ने प्रेरणाको श्रोत बन्यो।

    वि.सं. १९९८ सालमा पुष्पलाल श्रेष्ठले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गर्नुभयो। संघमा रहेका सदस्यले आ-आफ्नो रगतले प्रतिज्ञापत्रमा सही गरेर पार्टीमा लाग्नुपर्ने नियम थियो। संघले राणाशासनको विरोध गर्ने, विद्यालयहरू खोली विभिन्न खालका -सिपमूलकसमेत) तालीम दिन्थ्यो। भारतमा पनि राणाविरोधी क्रियाकलाप बढाउने पुष्पलालले वि.सं. १९९७ सालदेखि बन्दीजीवन बिताइरहेका नेपाल प्रजा परिषद्का नेताहरूसित गोप्यरूपले सम्पर्क राखी टंकप्रसाद आचार्यलगायत अरू नेताहरूको नेलसहितको फोटो सन् १९४२मा भारत, पटनाबाट प्रकाशित हुने ‘जनता’ पत्रिकामा प्रकाशित गर्न मद्दत गर्नुभयो। २००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसले नागरिक अधिकारको लागि गरेको आन्दोलनको नेतृत्व पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ, साहना प्रधान आदिले गर्नुभयो। जनताद्वारा गरिएको यही पहिलो जनआन्दोलनका कारण पद्म शमशेरले सुधारको कदम चाल्ने घोषणा गरे।

    मार्क्सवाद-लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो। २००६ सालमा भारतको कलकत्तामा भारत कम्युनिष्ट पार्टीका नेता अजय चक्रवर्तीसँगको भेटले उहाँको जीवनमा नयाँ मोड ल्यायो। त्यसबखत पुष्पलाल पश्चिम बङ्गालका वर्तमान मुख्यमन्त्री ज्योति बसुको नजिकहुनुहुन्थ्यो। पुष्पलालले नेपालमा साम्यवादी विचारधाराको व्यापक प्रचार-प्रसार गर्न ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ नेपालीमा अनुवाद गर्नुभयो। सम्भवतः नेपाली भाषाको सबभन्दा पहिलो साम्यवादी साहित्य यही नै थियो। उहाँको विवाह साहना प्रधान (नेकपा (ऐमाले)की वर्तमान नेतृ) सँग भएको थियो। २०१५ सालको आम चुनावमा बन्दीपुर, २०१७मा पार्टी प्रभाव बिस्तार गर्न तेह्रथुम (लिम्बुवान) बजारमा पुग्नुभयो। २०१६ सालमा उहाँ सोभियत सङ्घमा सम्पन्न कम्युनिष्ट अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई सोही वर्ष चीनभ्रमण गर्नुभयो।

    २०१७ साल पौष १ गते राजाबाट चालिएको कदम पछि भूमिगत र निर्वासितजीवन बिताउन बाध्य पुष्पलालले चारैतिर छरिएका कम्युनिष्टहरूलाई भेला गराई तेस्रो महाधिवेशन गर्नुभयो।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै