• 2021-03-02

    टाेखालाइभ डट कम / फागुन १८
    बालाजु बाइपास सडकमा विरोध गर्दा पक्राउ परेका सडक विस्तार पीडित तथा अभियन्ताहरूलाई मंगलबार
    सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै गिरफ्तार गरिएका सबै अभियन्तालाई रिहा गरेको छ।

    न्यायाधीश प्रकाशमान सिंह राउत र दीपककुमार कार्कीको इजलासले उनीहरूलाई छाड्न आदेश दिएको हो।

    महानगरीय प्रहरी वृत्त, बालाजुले गत बुधबार काठमाडौं महानगरपालिकाले बाइपास सडकमा बनाउन लागेको सूचना केन्द्रका बारहरू भत्काएको र नेपाल भाषा बोलेको भन्दै काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमि मीनबहादुर शाही, महेश्वर मानन्धर, सञ्जय तामाङ विरोचन श्रेष्ठ ,दिपेन श्रेष्ठ, भीमदेव श्रेष्ठ र रूचित श्रेष्ठलाई पक्राउ गरेको थियो।

    ‘ सर्वोच्च अदालतले जारी गरेको आदेशमा म्याद थप अनुमति समेत लिइ हिरासतमा राखी अनुसन्धान जारी रहेकोले विना पुर्जी पक्राउ गरेको लगायतका निवेदन व्यहोराहरु झुटाे रहेको भनि उल्लेख भएको देखियो।’कुनै पनि व्यक्तिलाई थुनामा राख्दा कानुनसम्मत उचित कारणसहित वस्तुनिष्ठ आधार उल्लेख हुनुपर्नेमा यी निवेदकले के-कस्तो अपराधिक कार्य गरेको भन्ने स्पष्टसँग खुल्न आएको देखिएन। जसबाट यी निवेदकलाई आफ्नो सम्पत्ति रक्षार्थ विचार र अभिव्यक्ति व्यक्त गरेको कारणबाट पक्राउ गरेको देखिन्छ,’ सर्वोच्च अदालतले जारी गरेको आदेशमा लेखिएको छ।
    आदेशमा उनीहरूले राज्यविरूद्धको के-कुन कसुर गरेको भन्ने स्पष्ट नै नगरी पक्राउ पूर्जी दिइएको पनि उल्लेख छ। म्याद थप माग र म्याद थप आदेश गरेको पनि स्पष्ट आधार र कारण मिसिल संलग्न कागजबाट खुल्न सकेको नदेखिएको भन्दै अदालतले निवेदकहरूको थुना गैरकानुनी भएको सर्वोच्च अदालतले जारी गरेको आदेशमा उल्लेख गरिएको छ।
    अत: स्पस्ट आधार र कारण विना निवेदकहरुलाई पक्राउ गर्ने र अनुसन्धानको क्रममा भनी थुनामा राख्ने कार्य न्यायीक दृष्टिकोणबाट समेत औचित्यपूर्ण नदेखिएकाले निवेदकहरुलाई आजै थुनामुक्त गर्नु भनि विपक्षीहरुको नाममा नेपालको संविधानको धारा १३३(२) र(३) तथा सर्वोच्च अदालत नियमावली ,२०७४को नियम ३७ बमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिदिएको छ भनि सर्वोच्च अदालतले जारी गरेको फागुन १८ गतेको आदेश लगत्तै अभियन्ताहरु मंगलबार  साझ  रिहा भएको हो।

    अभियन्ताहरु आजै थुनामुक्त भएपछि आज मंगलबार साँझ पाँच बजे इन्द्रचोकमा हुने मैनबत्ती र्‍यालीमा उनीहरू सहभागी हुने अभियन्ता रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए। फाेटाे: गणपति लाल श्रेष्ठ

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै