काठमाडौँ, १४ फागुनः महाशिवरात्रि तथा २६२औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक भई बढाइँ तथा सैनिक कला प्रदर्शनी अवलोकन गर्नुभयो । सो अवसरमा नेपाली सेनाद्वारा उहाँको सम्मानमा राष्ट्रपति सलामी अपर्ण गरिएको थियो । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । उहाँले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभयो । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने गरिन्छ । समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०८१’ वार्षिक पत्रिका विमोचन गर्नुभयो । उहाँले ‘फ्री फल जम्प’मा प्रथम हुने सेनानी जगनाथ दनै र दोस्रो हुने अमलदार मित्रबहादुर रानामगरलाई पुरस्कार प्रदान गर्नुभयो ।
त्यसै अवसरमा नेपाली सेनाको तर्फबाट शान्ति मिसनमा प्रयोग गर्दै आएका सवारीसाधन, उपकरण र हातहतियारको प्रदर्शन गरिएको थियो । त्यस्तै सेनाको टोलीबाट सङ्गठनको प्रतीक चिह्न षटकोणभित्र त्रिशूल र डमरु आकृतिलगायतको प्रस्तुति भएको थियो ।
राष्ट्रपति पौडेलले सेना दिवस समारोहमा ब्याण्ड प्रस्तुत गर्नुहुने भारतीय, बेलायती र अमेरिकी सेनाका टोली प्रमुखलाई सम्झनास्वरुप उपहार प्रदान गर्नुभयो । यसअघि सेनाको हेलिकोप्टरमार्फत पुष्पवृष्टि गर्नाका साथै राष्ट्रिय झण्डा र ‘सेना दिवस–२०८१’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो । त्यस अवसरमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ तथा कवाज प्रस्तुत गरेको थियो । समारोहमा सेनाद्वारा विभिन्न रणकौशल, मार्चपास तथा परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित हुनुहुन्थ्यो । यसैगरी उपप्रधानमन्त्री, मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमख एवं पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका लब्ध प्रतिष्ठित महानुभाव पनि शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल पुग्नुभएको थियो । त्यस अवसरमा भारतीय स्थल सेनाका पूर्वप्रमुखहरू जोगिन्दर जसवन्त सिंह, दीपक कपुर, विजयकुमार सिंह, दलवीरसिंह सुहाग, मनोजमुकुन्द नरवणे र मनोज पाण्डे सहभागी रहनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो लागेको थियो ।उक्त समारोहको नेपाल टेलिभिजनलगायत विद्युतीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए ।