❝ १९औँ एसियाली खेलकुदमा नेपालद्वारा मङ्गोलिया विरुद्ध कीर्तिमानी जित ❞
2023-09-27
हाङझाउ (चीन), १० असोज : १९औँ एसियाली खेलकुदमा नेपालले २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा पहिलो खेलमा आज मङगोलियासित कीर्तिमानी जित निकालेको छ । मङ्गोलियालाई नेपालले दुई सय ७३ रनले पराजित गरेको हो । पुरुष क्रिकेटमा नेपालको यही नै अहिलेसम्मको ठूलो जित हो । झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा मङ्गोलियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर तीन सय १४ रन बनायो । नेपालले दिएको तीन सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३ दशमलव एक ओभरमा ४१ रनमै अलआउट भयो। बलिङतर्फ नेपालका करण केसी, अभिनास बोहरा र सन्दीप लामिछानेले दुई दुई तथा सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए। यसअघि मंगोलियाविरुद्ध ब्याटिङ गर्ने क्रममा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी ब्याटिङ गरे । कुशल मल्लले ३४ बलमै शतक प्रहार गर्दै अर्को विश्व कीर्तिमान बनाए। दीपेन्द्रसिंह ऐरीले मात्र नौ बलमा अर्धशतक बनाएर अर्को विश्व कीर्तिमान बनाए। कुशल मल्लले ५० बलमा अविजित एक सय ३७ रन तथा ऐरीले १० बलमा अविजित ५२ रन बनाए । मल्लले यस क्रममा १२ छक्का र आठ चौका तथा ऐरीले आठ छक्का प्रहार गरे । यस्तै कप्तान रोहितकुमार पौडेलले २७ बलमा ६१, कुशल भुर्तेलले २३ बलमा १९ तथा आसिफ शेखले १७ बलमा १६ रन बनाए । नेपालले समूह चरणको अर्को खेल माल्दिभ्ससित खेल्नेछ।