टाेखालाइभ डट कम /असार १२
एजेन्सी/संयुक्तराज्यअमेरिकाको मिनियापोलिसका पूर्व प्रहरी अधिकृत डेरेक चौभिनलाई अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा अदालतले दोषी ठहर गर्दै साढे २२ वर्ष कैद घोषणा गरेको छ। अश्वेत नागरिक जर्ज फ्लोएड र उनको घाँटी घुँडाले थिच्ने पुलिस अधिकारी डेरेक चाउभिनले पहिलेदेखि नै एक अर्कालाई चिनेको र ती दुईबीच पुरानो विवाद पनि रहेको खुलासा यसअघि नै भएको थियो ।
यी दुईले पहिले साथमा एक नाइट क्लवमा काम गरेको र त्यहीँ विवाद भएको उनीहरुका एक सहकर्मीले खुलासा गरेका थिए। यो क्लवलाई फ्लोएडको मृत्युपछि प्रदर्शनकारीले तोडफाेड गरेका छन् ।
अमेरिकी राष्ट्रपति जो वाईडेनले सो निर्णयबारे प्रतिक्रिया दिँदै भनेका छन्, ” मैले फैसलाको पूर्ण विवरण हेरेको छैन तर जे निर्णय आयो त्यो सहि आएको छ।”
४६ वर्षीय फ्लोएडको मे २५, २०२० का दिन मृत्यु भएको थियो। फ्लोएडमाथि एउटा पसलमा २० डलरको नक्कली नोट दिएको आरोप छ। तर उक्त घटनालाई जातीय अन्याय र प्रहरीको क्रुरताको रुपमा व्याख्या गर्दै अमेरिका र विश्वका अन्य कतिपय मुलुकमा विरोध प्रदर्शन भएका थिए।
झण्डै तीन सातादेखि अदालतमा चलिरहेको बहसलाई विश्वका सबैजसो प्रमुख समाचारमाध्यमले प्रमुखताका साथ प्रकाशन प्रशारण गरेका थिए। डेरेकले अश्वेत नागरिक फ्लोएडलाई पक्राउ गरेपछि भुइँमा लडाएर घुँडाले घाँटी थिचेपछि फ्लोएडको मृत्यु भएको थियो। मिनियापोलिसको अदालतले उक्त फैसला सुनाएलगत्तै अदालत बाहिर भेला भएका फ्लोएडका ठूलो संख्याका समर्थकले खुशी साटासाट गरेका थिए।
अदालतको आदेशमा गम्भीर अपराध गरेको भन्दै चौभिनलाई साढे २२ वर्ष जेल सजाय हुने उल्लेख छ। मिनियापोलिस प्रहरीमा १९ वर्ष बिताएका चौभिनले फ्लोएडलाई नौ मिनेटभन्दा बढी घाँटीमा घुँडाले थिचेको भिडियो सार्वजनिक भएको थियो जसमा फ्लोएडले पटकपटक ‘म सास फेर्न सकिरहेको छैन’ भन्ने सुनिएको थियो।