• Jana Kura

    • 2020-12-22

    २०७७ पुष ६ गते

    काठमाडौं। फागुनमा हुने भनिएको नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) को चौथो संस्करण वैशाखमा हुने भएको छ। फागुन महिनाको १२ देखि १६ सम्म काठमाडौंमा गर्ने भनी घोषणा गरिएको फेस्टिभल कोरोना महामारीका कारण निर्धारित मितिमा हुन नसक्ने आयोजकले जनाएको छ। आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले फेस्टिभल २०७८ बैशाखको २३ देखि २७ सम्म काठमाडौंमा हुने जानकारी गराएको छ।

    आयोजक संस्थाका अध्यक्ष केपी पाठकले महामारीका कारण फिल्ममेकरले चाहेर पनि फेस्टिभलमा सहभागी हुन सक्ने अवस्था नभएको बताए। उनले भर्चुअल रुपमा गर्ने विकल्प खास प्रभावकारी नलागेको बताए।

    आयोजकले पूर्व निर्धारित मितिमा फेस्टिभल गर्ने गरी विश्वभरका फिल्ममेकरबाट फेस्टिभलमा सहभागिताका लागि आवेदन पनि खुला गरेको थियो। २०२० को जुलाई १ देखि नोभेम्बर ३० सम्म तोकिएको समयावधिमा ५२ देशका ४ सय बढी फिल्मले सहभागगिताका लागि आवेदन दिएको आयोजकका संस्थाका अध्यक्ष पाठकले विज्ञप्तिमा उल्लेख गरेका छन्।

    यसरी प्राप्त फिल्ममध्येबाट छानिएका फिल्मको सूची फागुन ८ (फ्रेब्रुअरी २०,२०२१) मा सार्वजनिक गरिने पनि संस्थाका अध्यक्ष पाठकले जनाएका छन्।

    ‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्य सहित सुरुभएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मको विधा थप गरिएको थियो। ‘बेस्ट पान्डेमिक फिल्म’ नाम दिइएको यो विधामा विजेता फिल्मले ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने अध्यक्ष पाठकले जानकारी गराए।

    राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई भागमा बाँडेर प्रदान गरिने अवार्डमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतमबुद्ध अवार्ड अवार्ड प्रदान गरिनेछ भने यो फिल्मले इन्टरनेशनल फेडरेसन अफ फिल्म सोसाइटिजको जुरीको तर्फबाट आइएफएफएस डन क्विजोट अवार्ड प्राप्त गर्नेछ।

    यसैगरी अन्तर्राष्ट्रिय विधातर्फै सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७ सय ५० डलर राशिको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको वाग्मती अर्वाड प्रदान गरिनेछ।

    साथै , नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रु १ लाख नगद, उत्कृष्ट सर्ट फिल्मलाई रु ५० हजार नगद र सर्ट फिल्म मध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफि प्रदान गरिनेछ। यो बाहेक फिचर फिल्म विधा तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै