• Jana Kura

  • 2026-05-10

काठमाडौं वैशाख २७। आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ ।

सरकारले सोमबार सार्वजनिक गर्ने नीति तथा कार्यक्रमलाई जनमुखी, पारदर्शी र यथार्थ आवश्यकतामा आधारित बनाउने उद्देश्यसहित उक्त डिजिटल प्लेटफर्म सुरु गरिएको हो ।

यस पोर्टलमार्फत देश तथा विदेशमा रहेका नेपाली नागरिक, विषयविज्ञ तथा नीति निर्माताहरूले बजेट निर्माण, विकास प्राथमिकता र सार्वजनिक नीतिसम्बन्धी आफ्ना राय–सुझाव सिधै सरकारसमक्ष पेश गर्न सक्नेछन् ।

प्रधानमन्त्री कार्यालयकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी जनभावना र विज्ञताको सम्मान गर्ने सरकारको सोचअनुसार यो पहल अघि बढाइएको हो ।

उनले पोर्टलले नागरिक र राज्यबीचको दूरी घटाउँदै सुशासनको नयाँ अभ्यास स्थापित गर्ने विश्वास व्यक्त गरिन् । साथै प्राप्त सुझावहरूलाई प्रशासनिक तहमा गम्भीरतापूर्वक समीक्षा गरी नीतिगत रूपमा कार्यान्वयन गरिने पनि उनले स्पष्ट पारिन् ।

पोर्टलमा नागरिकले दिएका सुझावहरूको अवस्था र त्यसमा सरकारले चालेको कदमबारे जानकारी लिन सकिने ‘सुझाव ट्र्याक’ सुविधा समेत समावेश गरिएको छ ।

सरकारले यस डिजिटल पहलमा सक्रिय सहभागिता जनाई ‘समृद्ध नेपाल’ निर्माण अभियानमा रचनात्मक योगदान गर्न सम्पूर्ण नेपालीलाई आग्रह गरेको छ ।

नागरिकहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमार्फत पोर्टल प्रयोग गरी आफ्ना सुझावहरू सिधै प्रधानमन्त्रीको सचिवालयसम्म पु¥याउन सक्नेछन्।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै