काठमाडौं ०८३ वैशाख २६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय प्रशिक्षण विभागको आयोजनामा पार्टीका प्रतिनिधिसभा सदस्यहरूका लागि ‘सक्षम सांसद, सशक्त संसद्’ संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण शृङ्खलाको पहिलो चरण आजदेखि सुरु हुँदैछ ।
वैशाख २६ र २७ गते जावलाखेल स्थित स्टाफ कलेजमा सञ्चालन हुने कार्यक्रममा पार्टी उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सांसदहरूको कानुनी, नीतिगत तथा संसदीय क्षमता अभिवृद्धि गर्दै संसद्लाई जनउत्तरदायी र प्रभावकारी बनाउने उद्देश्यसहित प्रशिक्षण आयोजना गरिएको जनाइएको छ ।
पहिलो दिनको प्रशिक्षणमा सदन र सरकारबीचको अन्तरसम्बन्ध तथा संसदीय प्रक्रियामा केन्द्रित सत्र रहनेछ । पार्टी, सरकार र संसद्बीचको समन्वयका विषयमा महामन्त्री भूपदेव शाह ले प्रशिक्षण दिनेछन् । त्यसैगरी, संसदीय समितिमा सांसदको भूमिकाबारे संसदीय दलका उपनेता गणेश पराजुली तथा संसदीय अभ्यास र दलीय समन्वयमा सचेतकको भूमिकाबारे सांसद निशा डाँगी ले अनुभव प्रस्तुत गर्नेछिन् ।
दोस्रो दिन राजनीतिक आचरण, कूटनीति तथा आगामी निर्वाचनको तयारीमा केन्द्रित रहनेछ । सचेतक क्रान्तिशिखा धिताल ले राजनीतिक मनोविज्ञान, व्यवहार र नैतिक आचरणबारे प्रशिक्षण दिनेछिन् भने परराष्ट्रमन्त्री शिशिर खनाल ले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र राजकीय मर्यादाका विषयमा जानकारी गराउनेछन् । साथै, सह–महामन्त्री विपिनकुमार आचार्य ले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको वैज्ञानिक ढाँचा र पार्टी तयारीबारे कार्यपत्र प्रस्तुत गर्नेछन् ।
प्रशिक्षणको समापन सत्रमा पार्टी सभापति रवि लामिछाने ले विशेष निर्देशनात्मक मन्तव्य दिने कार्यक्रम रहेको छ । उनले पार्टीको मुख्य एजेन्डा, सुशासनप्रतिको प्रतिबद्धता तथा जनउत्तरदायी सांसदको भूमिकाबारे मार्गनिर्देशन गर्ने जनाइएको छ ।