• Jana Kura

  • 2026-04-25

काठमाडौँ वैशाख १२ :  काठमाडौँको थापाथलीमा शनिबार बिहान एउटा दृश्य फेरि दोहोरियो डोजरको गर्जनसँगै सुकुम्बासी बस्ती उजाडिन थाल्यो। बागमती नदी किनारमा वर्षौँदेखि बसोबास गर्दै आएका परिवारहरू आफ्ना झुपडी छोड्न बाध्य बने।

नेपाल सरकारले सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने उद्देश्यले दुईवटा डोजर परिचालन गर्‍यो। बस्ती हटाउने क्रममा मानिसलाई सुरक्षित रूपमा बाहिर निकाल्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र महानगर प्रहरी खटिएका थिए।

बिहानैदेखि क्षेत्रमा बाक्लो सुरक्षाकर्मीको उपस्थिति थियो। सम्भावित तनावलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको देखिन्थ्यो। तर, सुरक्षाको घेराभित्र पनि बस्तीवासीको चिन्ता र अन्योल स्पष्ट देखिन्थ्यो।

घर भन्नु नै टहरो भए पनि त्यही नै उनीहरूको संसार थियो। डोजर अघि बढ्दै जाँदा कतिपयले आफ्ना सामान जोगाउने हतारो गरे, कतिपय निःशब्द टुलुटुलु हेरेर बसे।

सरकारले यसअघि नै बस्ती खाली गर्न आग्रह गर्दै नमाने कानुनी कारबाही हुने चेतावनी दिएको थियो। तर स्थानीयवासी भने सुकुम्बासी समस्याको दीर्घकालीन समाधान नखोजी जबर्जस्ती हटाउन खोजिएको भन्दै असन्तुष्ट छन्।

थापाथलीको यो दृश्यले फेरि एउटै प्रश्न उठाएको छ बस्ती हटेपछि ती परिवार कहाँ जाने?

छुटाउनुभयो कि? सबै