काठमाडौँ वैशाख १२ : सगरमाथा दिवस तथा अन्तरराष्ट्रिय आरोग्य दिवसको अवसरमा इजिप्टको कायरोमा शुक्रबार पाँच किलोमिटर ‘नेपाल–इजिप्ट मैत्री दौड’ सम्पन्न भएको छ।
इजिप्टस्थित नेपाली दूतावासले त्यहाँको स्थानीय विकास तथा वातावरण मन्त्रालय (इजिप्ट) र वादी डेगला संरक्षित क्षेत्रसँगको सहकार्यमा ‘हिमालदेखि नाइलसम्म हरित भविष्यका लागि दौडौँ’ नारासहित कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रमको उद्घाटन इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्साल र स्थानीय विकास तथा वातावरण मन्त्रालयअन्तर्गत संरक्षित क्षेत्रसम्बन्धी केन्द्रीय प्रशासन प्रमुख मोहम्मद युसुफले संयुक्त रूपमा गरेका थिए।
राजदूत लम्सालले सगरमाथा दिवसलाई मानव दृढता र सहकार्यको प्रतीकका रूपमा उल्लेख गर्दै योग, ध्यान र प्रकृतिसँगको सन्तुलनजस्ता नेपाली अभ्यासले स्वास्थ्य र वातावरणबीचको सम्बन्ध बलियो बनाउने बताए।
इजिप्ट पक्षका प्रतिनिधिले कार्यक्रमले वातावरणीय सचेतना र दिगोपनाको सन्देश फैलाएको उल्लेख गर्दै हरित भविष्य निर्माणमा नेपालको योगदानको प्रशंसा गरेका थिए।
मरुभूमि पारिस्थितिकी तन्त्र र वन्यजन्तु संरक्षण गरिएको वादी डेगला क्षेत्रमा भएको उक्त दौड प्राकृतिक परिवेशमै सम्पन्न भएको हो।
कार्यक्रममा कूटनीतिज्ञ, विद्यार्थी, स्थानीय खेलाडी तथा नेपाली समुदायका सदस्यसहित करिब ३५० भन्दा बढी सहभागीको उपस्थिति रहेको दूतावासले जनाएको छ।