• Jana Kura

    • 2026-04-05

    काठमाडौँ, २२ चैतः सर्वोच्च अदालतले केपी शर्मा ओली तथा रमेश लेखकलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण (हैबियस कर्पस) रिट निवेदनमा हेर्दाहेर्दैमा सोमबार पुनः सुनुवाइ गर्ने भएको छ।

    न्यायाधीश विनोद शर्मासुनिलकुमार पोखरेलको इजलासमा आज सुनुवाइ सुरु भए पनि समय अभावका कारण सोमबारका लागि स्थगित गरिएको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिनुभयो।

    अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले यही चैत १५ गते गैरकानुनी थुनामा राखिएको दाबी गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो।

    यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले अध्यक्ष ओलीको र न्यायाधीश कुमार रेग्मीको इजलासले नेता लेखकको रिटमा चैत १६ गते कारण देखाउ आदेश जारी गरेको थियो।

    रिट निवेदनमा गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानुनी भएको उल्लेख गरिएको छ। साथै, कुनै पनि जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा सिधै पक्राउ गर्ने कार्य कानुनसम्मत नहुने दाबी गरिएको छ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै