• Jana Kura

  • 2026-04-02

काठमाडौँ, १८ चैत : गृहमन्त्री सुधन गुरुङ ले जिल्ला प्रहरी परिसर काठमाडौँ को निरीक्षण गर्दै प्रहरी कर्मचारीलाई जिम्मेवार, पारदर्शी र जनहितमुखी भएर काम गर्न निर्देशन दिनुभएको छ।

निरीक्षणका क्रममा उहाँलाई उच्चपदस्थ प्रहरी अधिकारीहरूले स्वागत गरेका थिए। त्यसपछि गृहमन्त्री गुरुङले समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै जिम्मेवारीपूर्वक कर्तव्य निर्वाह गर्न आग्रह गर्नुभयो।

उहाँले कर्तव्यपालनका क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने स्पष्ट पार्दै आपराधिक गतिविधि नियन्त्रणमा नेपाल प्रहरी ले देखाएको दक्षताको प्रशंसा गर्नुभयो।

गृहमन्त्री गुरुङले नागरिक र प्रहरीबीचको सम्बन्धलाई थप सुदृढ बनाउन शिष्ट बोली, व्यवहार र सेवा प्रवाहमा सुधार आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले नागरिकका समस्या समाधानमा संवेदनशील र विनम्र भएर काम गर्नुपर्ने बताउनुभयो।

साथै, उहाँले प्रहरीप्रति समाजको दृष्टिकोण सकारात्मक बनाउन उत्कृष्ट सेवा प्रवाह नै प्रमुख आधार हुने उल्लेख गर्नुभयो। नागरिकको सेवालाई केन्द्रमा राखेर काम गर्नुपर्ने सुझाव दिँदै उहाँले विपद् व्यवस्थापनमा प्रहरीको अग्रपङ्क्तिको भूमिकाको प्रशंसा गर्नुभयो।

गृहमन्त्री गुरुङले आगामी दिनमा प्रहरी संगठनलाई अझ आत्मनिर्भर, सशक्त र सक्षम बनाउन आवश्यक साधनस्रोत तथा समयानुकूल तालिमको व्यवस्था गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै