काठमाडौँ, १७ चैत : स्वास्थ्य बीमा बोर्ड ले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको गुनासो बढेपछि कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ।
बोर्डका अनुसार बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहका क्रममा केही सेवा प्रदायक स्वास्थ्य संस्थाले बीमित सेवाग्राहीलाई दुःख दिने, आवश्यक सेवा नदिने तथा सहज रूपमा उपचार उपलब्ध नगराउने गरेको पाइएको छ। यसप्रति बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
त्यसैगरी, बीमा सेवा लिन अग्रिम समय लिनुपर्ने बाध्यता सिर्जना गरिएको, बीमितप्रति भेदभावपूर्ण व्यवहार गरिएको तथा आवश्यक सेवा–सुविधा र औषधि उपलब्ध नगराइएको गुनासो पनि आएको बोर्डले जनाएको छ।
स्वास्थ्य बीमा ऐन, २०७४ र स्वास्थ्य बीमा नियमावली, २०७५ सहित प्रचलित कानुनविपरीतका गतिविधि नगर्न बोर्डले सबै सेवा प्रदायकलाई चेतावनी दिएको छ।
बोर्डका कार्यकारी निर्देशक कृष्णप्रसाद पौडेल का अनुसार अनुगमनका क्रममा नियमविपरीत कार्य भएको प्रमाणित भएमा सम्बन्धित संस्थामाथि ऐनबमोजिम कारबाही गरिनेछ।