काठमाडौँ, १७ चैत : जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।
हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा सामान्य बदली रहेको छ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी प्रदेशलगायत पहाडी र हिमाली भूभागका केही स्थान तथा अन्य थोरै स्थानमा मेघगर्जन, चट्याङ, हुरीबतास र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने बताइएको छ।
त्यस्तै, आज राति कोशी प्रदेशसहित हिमाली भूभागमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।