काठमाडौँ, २४ फागुनः अर्थमन्त्री रामेश्वर खनालले तोकिएको समयमा निर्वाचन हुन्छ वा हुँदैन भन्ने आशङ्काबीच निर्वाचन आयोग (नेपाल)ले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेकामा धन्यवाद दिँदै यसको सम्पूर्ण श्रेय आयोगलाई जाने बताउनुभएको छ।
आज आयोगको कार्यालय बहादुर भवन पुगेर अर्थमन्त्री खनालले देशका कुनै पनि स्थानमा निर्वाचन स्थगित नभई सफलतापूर्वक सम्पन्न भएको भन्दै आयोगका पदाधिकारीलाई धन्यवाद दिनुभयो। जेनजी पुस्ताको आन्दोलनपछि मुलुक अशान्त बनेको अवस्थामासमेत आयोगले दृढ इच्छाशक्तिका साथ काम गरेर निर्वाचन सम्पन्न गराएको उहाँले उल्लेख गर्नुभयो।
यसअघिका निर्वाचनका क्रममा ५१ स्थानमा मतदान स्थगित भई पुनः निर्वाचन गर्नुपरेको स्मरण गर्दै उहाँले यसपटक कैदीबन्दी फरारजस्ता घटनाका कारण शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुन्छ कि हुँदैन भन्ने आशङ्का भए पनि आयोगले बनाएको कार्यतालिकामा कुनै सम्झौता नगरी काम गरेको बताउनुभयो।
आयोगको प्रभावकारी कार्यतालिका र कामप्रतिको अठोटका कारण निर्वाचन सम्पन्न गराउन सम्भव भएको उहाँको भनाइ थियो। “लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रतिस्पर्धाको भावना विकास गराउन पनि आयोग सफल भएको छ। एक स्थानमा पनि स्थगित नभई सफलतापूर्वक निर्वाचन सम्पन्न भएको छ। देशमा सुशासन कायम गराउने युवापुस्ताको मागलाई पनि निर्वाचनले सफल बनाएको छ,” सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित आयोगले आज बुझाएको प्रतिवेदनबारे भने वर्तमान सरकारले कार्यान्वयन गर्ने समय नभएको उहाँले बताउनुभयो। मन्त्रिपरिषद्मा छलफल गरी प्रतिवेदन सार्वजनिक गर्ने पहल गरिने र त्यसको कार्यान्वयन आगामी सरकारले गर्ने उहाँको भनाइ थियो।
सो अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा पनि सहभागी हुनुहुन्थ्यो। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीहरूले मन्त्रीद्वयलाई मतगणनालगायत निर्वाचनसम्बन्धी जानकारी गराउनुभएको थियो।