काठमाडौँ, २४ फागुनः प्रधानमन्त्री सुशीला कार्की समक्ष भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले करिब एक हजार पृष्ठको प्रतिवेदन पेस गरेको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित उक्त आयोगमा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहनुभएको थियो।
प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाएपछि आयोगका सदस्य शर्मााले करिब २०० जनासँग सोधपुछ गरिएको तथा विभिन्न क्षेत्रका विज्ञहरूसँग राय सुझाव लिएर प्रतिवेदन तयार गरिएको जानकारी दिनुभयो। प्रतिवेदनमा घटनाका दोषीमाथि कारबाही गर्न सिफारिस गरिएको पनि उहाँले बताउनुभयो।
आयोगका अध्यक्ष कार्कीले आफूहरूले इमान्दारीपूर्वक काम गरेको र कुनै पूर्वाग्रह बिना देखिएको तथ्यलाई प्रतिवेदनमा समेटिएको बताउनुभयो। भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसमेत प्रतिवेदनमा समावेश गरिएको उहाँको भनाइ छ।
उहाँका अनुसार कुशासनका कारण उक्त घटना भएको निष्कर्ष आयोगले निकालेको छ। नियमनकारी निकायहरू कमजोर बनाइएकाले प्रणालीगत समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ। न्यायपालिका र कार्यपालिकामा ढिलासुस्ती, न्यायाधीशदेखि संवैधानिक नियुक्तिसम्म दलीय भागबण्डाको प्रवृत्तिले जनआक्रोश बढाएको आयोगको ठहर छ।
सदस्य शर्माले यो प्रतिवेदन जाँचबुझका आधारहरू प्रस्तुत गर्ने दस्तावेज मात्र भएकाले अब सम्बन्धित निकायले थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभयो।
अर्का सदस्य भण्डारीले प्रतिवेदनमा उल्लेख गरिएका सुशासनसम्बन्धी सुझावहरू कार्यान्वयन गर्न सके मुलुकको अवस्था सुधार हुन सक्ने धारणा व्यक्त गर्नुभयो।