• Jana Kura

  • 2025-09-30

 

भक्तपुर, १४ असोजः
दसैं, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर भक्तपुरले कडा सुरक्षा योजना लागू गरेको छ। मुख्य बजार, चोक, संवेदनशील क्षेत्र, मठमन्दिर, बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि प्रहरीको २७ वटा क्विक रेस्पोन्स टिम (QRT) २४ सै घण्टा परिचालन गरिएको छ।

प्रहरी नायब उपरीक्षक ढुण्डीराज रेग्मीका अनुसार कुनै पनि घटनाको सूचना आएपछि १० मिनेटभित्र प्रहरी पुग्ने व्यवस्था मिलाइएको छ। चोरी, डकैती, पाकेटमार, सामाजिक सञ्जालमार्फत हुने ठगी, मादक पदार्थको अवैध कारोबार, झगडा, लागुऔषध, अपहरण, चन्दा असुली, मानव बेचबिखन तथा जुवातासजस्ता अपराध नियन्त्रण गर्न युनिटगत रूपमा टोली परिचालन गरिएको छ।

सुरक्षासँगै नागरिकलाई सचेत गराउन सचेतना कार्यक्रम पनि सञ्चालन गर्ने तयारी भएको प्रहरीको भनाइ छ। प्रहरी गस्ती, एम्बुसिङ, चेक प्वाइन्ट, पिकेट तथा आकस्मिक (सरप्राइज) जाँचमार्फत सुरक्षा कडाइ गरिएको जनाइएको छ।

यस्तै, शंकास्पद गतिविधि वा कुनै घटना देखेमा तत्काल १००, १०३ वा जिल्ला प्रहरी परिसर भक्तपुरका सम्पर्क नम्बर ०१–६६१४७०८, ९८५१२८३०२०, ९८५१२९०९७६ मा खबर गर्न प्रहरीले आग्रह गरेको छ।

छुटाउनुभयो कि? सबै