काठमाडौँ, १२ असोजः गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनासम्बन्धी छानबिनलाई प्रभावकारी बनाउन जाँचबुझ आयोगले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनालाई विदेश भ्रमणमा रोक लगाएको छ।
आयोगको निर्णयअनुसार विदेश जान नपाउने अन्य व्यक्तिहरुमा पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा र काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल रहेका छन्।
आज जारी गरिएको विज्ञप्तिमा आयोगले उनीहरू सबैलाई अनुसन्धानको दायरामा रहेको भन्दै कुनै पनि समयमा उपस्थित हुनुपर्ने आवश्यकताका कारण स्वीकृतिबेगर उपत्यका छाड्न नपाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने जनाएको छ।
त्यसैगरी, आयोगले घटनाको छानबिन तथा प्रतिवेदन पेस गर्ने कामलाई प्रभावकारी बनाउन विज्ञसहितको थप जनशक्ति आवश्यक देखिएकाले त्यसको व्यवस्थापनका लागि गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको जनाएको छ।