• Jana Kura

  • 2025-09-18

 

काठमाडौं असोज २/
‘सेभ नेवा भ्याली’ले आगामी असोज ११ गते (शनिबार, २७ सेप्टेम्बर २०२५) काठमाडौंको पाको, नयाँ सडकमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बिहान ९ बजेबाट सुरु हुने यो कार्यक्रम दिउँसो १२ बजेसम्म चल्नेछ।

रक्तदान कार्यक्रममा प्रमुख अतिथिका रूपमा ऊर्जा, भौतिक तथा शहरी विकास मन्त्री माननीय कुलमान घिसिङ उपस्थित हुनेछन्। कार्यक्रममा विशिष्ट अतिथि डा. मनीता राजकर्णिकार रहनेछन्।

‘सेभ नेवा भ्याली’का अध्यक्ष शैलेश रत्न शाक्य भिक्षुले नेपालमा आकस्मिक अवस्थामा हुने रक्तअभाव न्यूनीकरण गर्न संस्थाले निरन्तर यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए। उनले भने, “नेवा: भनेको कुनै जात होइन, यो नेपाल मण्डलको सभ्यता र पहिचान हो। सामाजिक एकता, परोपकार र मानव सेवाको संस्कृति जोगाउँदै हामी निरन्तर यस्ता अभियान अगाडि बढाउँदैछौं।”

कार्यक्रम संयोजक रोबिन्सन कंसकारका अनुसार यस पटकको रक्तदान कार्यक्रममा युवाहरू, स्वास्थ्यकर्मी, समाजसेवी र स्थानीयबासीलाई व्यापक रूपमा सहभागी गराउने तयारी गरिएको छ। उनले रक्तदानलाई “जीवन दान” को रूपमा लिँदै प्रत्येक सचेत नागरिकले यसमा हातेमालो गर्नुपर्ने बताए।

नेपालमा हरेक वर्ष हजारौं बिरामी आकस्मिक र दीर्घ रोगका कारण रक्तअभाव झेल्नु पर्ने बाध्यता रहँदै आएको छ। यसै पृष्ठभूमिमा ‘सेभ नेवा भ्याली’ले आयोजना गर्ने रक्तदान कार्यक्रमले सामाजिक उत्तरदायित्व वहन गर्नुका साथै जीवन बचाउन महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।

आयोजक संस्थाले आगामी दिनमा पनि स्वास्थ्य, सामाजिक न्याय र सांस्कृतिक चेतना प्रवर्द्धनका उद्देश्यले विविध कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै