काठमाडौँ, १ असोज ।
जेनजी आन्दोलनका क्रममा घरमा आगलागी हुँदा गम्भीर घाइते भएकी पूर्व प्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था क्रमशः सुधारोन्मुख रहेको चिकित्सकहरूले बताएका छन् ।
चित्रकारलाई हाल कीर्तिपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार भइरहेको छ । जलन विशेषज्ञ डा. किरण नकर्मीले भन्नुभयो, “अस्पताल ल्याउँदाको अवस्थाभन्दा अहिले धेरै सुधार भएको छ, हामी सबै उपचारमा पूर्ण प्रयास गरिरहेका छौँ ।” उहाँका अनुसार आज देब्रे हातको शल्यक्रिया गरिनेछ र त्यसपछि थप उपचारको दिशा तय गरिनेछ ।
पूर्व प्रधानमन्त्री खनालले पनि पत्नीको स्वास्थ्यबारे जानकारी दिँदै भन्नुभयो, “फोक्सोमा हानिकारक ग्यास पुगेको र देब्रे हातमा गम्भीर जलन भएको चिकित्सकहरूले बताएका छन् । अहिले फोक्सो र हातमा विशेष ध्यान दिइराखिएको छ ।”
खनालले आगलागी योजनाबद्ध रूपमा गरिएको दाबी गर्दै यसलाई आपराधिक र अमानवीय घटना भनेका छन् । साथै, घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गर्दै उहाँले थप्नुभयो, “हाम्रो घर तोडफोड, लुटपाट र आगजनी गर्नेहरुको प्रमाण फेला पर्न थालेका छन् । ती प्रमाणहरू चाँडै सार्वजनिक गरिनेछ ।”
खनालले केही स्वदेशी तथा विदेशी सञ्चारमाध्यममा गलत समाचार सम्प्रेषण भएको भन्दै दुःख व्यक्त गरेका छन् र सत्यतथ्यको आधारमा जनतालाई जानकारी दिन आग्रह पनि गरेका छन् ।