बागमती, १ असोजः जेनजी आन्दोलनका क्रममा हेटौँडास्थित विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट चोरी तथा लुटपाट भएका सामान खोजीकार्यमा मकवानपुर प्रहरीले सक्रियता देखाएको छ।
भदौ २४ गतेको प्रदर्शनका क्रममा सरकारी निकायमा भएको तोडफोड, चोरी र लुटपाटपछि अहिले अवस्था सामान्य हुँदै जाँदा प्रहरीले हराएका सामान फिर्ता गर्ने काम सुरु गरेको हो। यसका लागि सिसीटिभी फुटेज र सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो तथा तस्बिरलाई आधार मानी प्रहरीले खोजतलास अगाडि बढाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार हालसम्म फेला पारिएका कम्प्युटर, प्रिन्टर, कुर्सी, फोटोकपी मेसिन, इन्भर्टर, फ्रिज, स्पिकर सेटलगायतका सामग्री सम्बन्धित कार्यालयलाई फिर्ता गरिएको छ।
उनीका अनुसार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चोरी भएका कम्प्युटर, दराज, कुर्सी, प्रिन्टर, फोटोकपी मेसिन, फ्रिज, ब्याट्री, स्पिकर सेट लगायत सामग्री बरामद गरी हस्तान्तरण गरिएको छ। त्यस्तै, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयबाट चोरी भएका कम्प्युटर, ल्यापटप, टुल कुर्सी, इन्डक्सन चुलो, र्याक तथा इलेक्ट्रिक जग पनि फेला पारिएको छ।
अन्य कार्यालयबाट हराएका सामग्री अझै खोजी भइरहेको प्रहरीले जनाएको छ।
गत भदौ २४ गते आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले बागमती प्रदेशका १० वटा मन्त्रालय, प्रदेशसभा भवन, विभिन्न कार्यालय, न्यायालय र निजी निवासहरूमा तोडफोड र आगजनी गरेका थिए। भाटभटेनी सपिङ कम्प्लेक्सदेखि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर, एमाले नेता एकालाल श्रेष्ठ र व्यवसायी अजयराज सुमार्गीको घरमा समेत आगजनी भएको थियो।