• Jana Kura

  • 2025-09-17

काठमाडौँ, १ असोजः

आज देशभरका कालीगढ तथा मजदुरहरूले भगवान् विश्वकर्माको पूजा–आराधना गरी वास्तु दिवस तथा विश्वकर्मा पूजा पर्व भव्यतापूर्वक मनाइरहेका छन्। हरेक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने यो पर्वमा कलकारखानादेखि कार्यस्थलसम्म भगवान् विश्वकर्माको मूर्ति वा तस्बिर स्थापना गरी विशेष पूजा गरिन्छ।

यस दिन कालीगढहरूले आफ्ना औजार, मेसिन, सवारीसाधनलगायत कामका साधनलाई पूजा गर्ने परम्परा छ। धार्मिक विश्वासअनुसार यसरी पूजा गरे कामका सामान लामो समय टिक्ने, बिग्रन नदिने र राम्रो काम गर्न सहयोग पुग्ने मानिन्छ।

विश्वकर्मा पुराणअनुसार, द्वापर युगमा भगवान् कृष्णलाई राक्षसबाट जोगाउन विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ नामक नगर एकै रातमा निर्माण गरेका थिए। यही कारणले उहाँलाई सफल वास्तुविद् मानिने र त्यही समयदेखि विश्वकर्माको पूजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद्हरू बताउँछन्।

नेपालमा आजको दिन केवल पूजा–आराधनामा सीमित नभई वास्तु दिवसका रूपमा पनि चिनिने गरिएको छ। वास्तु शास्त्रका पुस्तकका लेखक र अध्येताहरूलाई स्मरण गर्दै वास्तुविद्हरूले आजको दिन विशेष कार्यक्रममार्फत वास्तु विद्याको महत्त्वबारे जनचेतना फैलाउने गर्छन्।

हालैका वर्षहरूमा नेपालमा वास्तु विद्याप्रतिको चासो बढ्दै गएको छ। चार उपवेदमध्येको स्थापत्य वेदमा आधारित भएर घर, सहर र आवास निर्माण गर्नेहरूको संख्या बढ्दै गएको कारण यसको महत्व अझै बढेको देखिन्छ।

यसरी आजको दिन केवल धार्मिक पूजापाठ मात्र नभई सृजनशीलता, श्रम र वास्तुकलाको सम्मान गर्ने अवसरका रूपमा मनाइँदैछ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै