काठमाडौँ, १२ भदौ – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सत्सङ्ग समाजमा विकृति र विसङ्गती हटाउन तथा सद्भाव र सहकार्य बढाउन महत्वपूर्ण साधन भएको बताउनुभएको छ।
काठमाडाैं–१० मध्यबानेश्वरस्थित कवीर सत्सङ्ग आश्रम ट्रष्ट नेपालको नवनिर्मित भवन उद्घाटन समारोहमा मन्त्री सिंहले सत्सङ्गले मानिसलाई सकारात्मक काममा केन्द्रित गराउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सत्सङ्ग र साधकका लागि बस्न, खाने, ध्यान गर्न र अध्यापनका लागि आवश्यक सुविधा सुनिश्चित गर्न सबैको सहयोग आवश्यक रहेको पनि बताउनुभयो।
बागमती प्रदेशका सांसद एवं पूर्वमन्त्री दीपेन्द्र श्रेष्ठले जीवनलाई सहि दिशामा डोर्याउन सत्सङ्ग अत्यन्तै महत्वपूर्ण रहेको अनुभव सुनाउनुभयो। कवीर सत्सङ्ग आश्रममा बाल्यकालदेखि ध्यानकर्म र सत्सङ्गको अनुभव रहेको सांसद श्रेष्ठले नयाँ भवनले देश–विदेशका सन्तगुरु र भक्तजनका लागि अध्ययन, भजन, ध्यान र विश्राममा सहजता ल्याउने आशा व्यक्त गर्नुभयो।
काठमाडाैं–१० का वडाध्यक्ष रामकुमार केसीले आश्रम टोल र समाजमा सद्विचार र सकारात्मक ऊर्जा फैलाउने प्रभावकारी स्थल भएको बताए। आश्रमका प्रमुख आर्दश दासले भने, “सत्सङ्ग जहाँ हुन्छ, त्यहाँ शुभता फैलिन्छ। यही विश्वासअनुसार सबैले सत्सङ्गमा लाग्नुपर्छ।”
भवन निर्माणसँगै आश्रमले भक्तजन र साधकका लागि थप सुविधा प्रदान गर्ने भएकोले, यसले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ।