काठमाडौँ, १५ साउन
नेपालको पर्यटन, वातावरण र जीवनशैलीमा नयाँ ऊर्जा ल्याउने आशा सहित ‘डोम हाउस’ अब नेपालमा पनि सुरू भएको छ। ‘नेपाल आइडिया फर वर्ल्ड’ले अन्तर्राष्ट्रिय स्तरको यो अनौठो र आकर्षक संरचना नेपालमा भित्र्याएको हो।
काठमाडौँको कमलादीस्थित स्काई टावरमा विशेष समारोहबीच २५ वटा डोम हाउसको औपचारिक शुभारम्भ गरियो। उक्त कार्यक्रमको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भने, “नेपालजस्तो सुन्दर र विविधतापूर्ण मुलुकमा डोम हाउस जस्ता नयाँ प्रविधि र डिजाइनले पर्यटन क्षेत्रलाई अझ समृद्ध बनाउन सक्छ। निजी क्षेत्रको यस्तो प्रयास सरकारको तर्फबाट पूर्ण साथ पाउनेछ, आवश्यक कानुनी झन्झट पनि हटाइनेछ।”
कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, कूटनीतिक प्रतिनिधिहरू, सञ्चारकर्मी र सरोकारवाला व्यक्तिहरूको उपस्थिति थियो।
के हो डोम हाउस?
डोम हाउस एउटा पारदर्शी, वातावरणमैत्री र आधुनिक संरचना हो, जुन रिसोर्ट, होमस्टे, रेस्टुराँ, मिडिया स्टुडियो वा व्यक्तिगत कार्यालयको रूपमा सजिलै प्रयोग गर्न सकिन्छ। यसलाई खासगरी पर्यावरण, स्वास्थ्य र दिगो जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको छ।
संस्थाका निर्देशक सन्तोष सुवेदीले भने, “हामी प्रभावका लागि नवप्रवर्तन, प्रगतिका लागि साझेदारी भन्ने नारालाई आत्मसात् गरेर अघि बढिरहेका छौँ।”
कार्यकारी प्रमुख उषा खतिवडाले थपिन्, “यो केवल एउटा व्यावसायिक शुभारम्भ होइन, नेपाल अब नवप्रवर्तन र हरित जीवनशैलीको यात्रातर्फ दृढताका साथ उन्मुख भएको संकेत हो।”
नेपालको पहाड, खोला र हरियालीसँग घुलमिल हुने गरी बनेको डोम हाउस अब न केवल पर्यटकका लागि नयाँ अनुभव बन्नेछ, बरु स्थानीय विकास, रोजगारी र दिगो भविष्यमाथि पनि सकारात्मक प्रभाव पार्नेछ भन्ने विश्वास आयोजकहरूको छ।