• Jana Kura

    • 2025-07-31

     

    सिगास, बैतडी ,असार १५/ २० वर्षीया एक आमाले बिहीबार राति शिशुलाई जन्म दिइन्। तर जन्मिएको केही समयमै शिशुको सास चल्न छाड्न थाल्यो। उद्धार सम्भव थिएन,न एम्बुलेन्स आइपुग्ने अवस्था थियो, न हेलिकप्टर मगाउने उपाय। यस्तो कठिन घडीमा, सिगास गाउँपालिका–४ स्थित कान्धारको स्वास्थ्य केन्द्रमा कार्यरत अनमी (सहयोगी नर्स) पूजा पुजारा अगाडि आइन्।

    पूजाले शिशुलाई ६ घण्टासम्म मुखबाटै कृत्रिम सास दिइन्। त्यो पनि लगातार, थाकेसम्म, बाँचेको आशामा। अन्ततः शिशु बाँचेको छ। जीवनको त्यो संघर्षमा पूजा हारिइनन्—शिशुको सास फेरी चल्न थाल्यो।

    अनलाइनमा यो समाचार सार्वजनिक भएपछि पूजाको कामको प्रशंसा चुलियो। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नै पूजालाई फोन गरेर धन्यवाद दिएका छन्।
    “बच्चाको ज्यान बचाएर तपाईंले उदाहरणीय काम गर्नुभएको छ,” मन्त्री पौडेलको भनाइ थियो, “देशलाई तपाईंजस्ता समर्पित स्वास्थ्यकर्मीको खाँचो छ।”

    फोनपछि पूजा छक्क परिन्, भावुक पनि भइन्।
    “सर स्वयंले फोन गर्नुभयो। मलाई त विश्वासै लागेन,” उनले भनिन्, “त्यो नै मेरो लागि ठूलो प्रेरणा भयो।”

    शिशुको ज्यान बचाउन सफल भएपछिको पूजाको अनुभूति अझ गहिरो छ।
    “आफ्नो कामप्रति अझ गम्भीर बनेकी छु,” पूजाले भनिन्, “जिम्मेवारीसाथ काम गरेछु भने परिणाम पनि आउँदो रहेछ।”

    स्वास्थ्य सेवा क्षेत्रमा सरकारी ध्यान र स्वास्थ्यकर्मीप्रतिको कदर यस्ता साना तर साहसी घटनाले मात्र सम्भव देखिन्छ। पूजाजस्तै नर्सहरूको समर्पण नै सुदूरवर्ती क्षेत्रका हजारौँ जीवनको आधार बनेको छ।

     

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै