• Jana Kura

  • 2025-07-30

 

नविना श्रेष्ठ
श्रावण १४, काठमाडौं

श्रावण १५ को सांस्कृतिक महत्व उजागर गर्दै नेपाल डेरी एसोसिएसनले काठमाडौंको थापागाउँमा “नेपाली खीर प्रवर्द्धन कार्यक्रम  २०८२” भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल थिए भने एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले अध्यक्षता गर्नुभयो। कार्यक्रममा दुग्ध विकास बोर्ड, कृषि मन्त्रालय, उद्योग महासंघलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, समाजसेवी र युवाको उल्लेखनीय उपस्थिति थियो।

अध्यक्ष दाहालले खीरलाई केवल परम्परागत परिकार नभई स्वास्थ्यका लागि लाभदायक भन्दै यसको प्रवर्द्धनले डेरी उद्योग र किसानलाई प्रत्यक्ष फाइदा पुर्याउने बताए। प्रमुख अतिथि ढकालले कृषि तथा डेरी क्षेत्रमा आधुनिकीकरण आवश्यक रहेको र यस्ता सांस्कृतिक कार्यक्रमहरूले स्थानीय उत्पादनको सम्मान र बजारीकरणमा सहयोग पुर्याउने धारणा राखे।

कार्यक्रममा साना बालबालिकालाई खीर खुवाएर शुभारम्भ गरिएको थियो। दुग्धजन्य उत्पादनको उपभोगमा योगदान दिने १६ व्यवसायीलाई सम्मान गरियो। साथै, विश्व पारा एथ्लेटिक्स च्याम्पियनशिप २०२५ का खेलाडी प्रभा आङदेम्बे र हिमाल आर्यायलाई पनि विशेष सम्मान प्रदान गरियो।

खीर, दहीजस्ता परम्परागत आहार केवल स्वाद होइन, स्वास्थ्य र संस्कृतिको मेरुदण्ड रहेको कार्यक्रममा जोड दिइयो। नेपाल डेरी एसोसिएसनले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

देशभर श्रावण १५ का दिन झन्डै ८० लाख लिटर दहीको खपत भई १ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।

 

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै