काठमाडौँ, साउन ११ – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आदिवासी जनजातिको समुचित उत्थानका लागि उनीहरूको परम्परागत जीवनशैलीसँग मेल खाने आर्थिक समृद्धिको ढाँचा आवश्यक रहेको बताउनुभएको छ।
लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालद्वारा आयोजित विस्तारित बैठकमा बोल्दै महासचिव पोखरेलले हरेक आदिवासी समुदायको सामाजिक तथा आर्थिक संरचना फरक हुने भएकाले त्यसै अनुरूपको विकास मोडेल आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “हामीले धेरैपटक बाहिर देखिएको विकास मोडेललाई जबरजस्ती अपनाउन खोज्यौँ। कार्यक्रम सुरु हुँदा उत्साहजनक देखिए पनि त्यो दीर्घकालीन हुन सकेन।”
महासचिव पोखरेलका अनुसार, यदि समुदायले लामो समयदेखि अभ्यास गर्दै आएको परम्परागत प्रणालीलाई आधुनिक विकाससँग जोडेर नीति कार्यक्रम बनाइयो भने समावेशी र स्थायी समृद्धिको ढोका खोल्न सकिन्छ। उहाँले सबै तहका सरकारले यस्तो सोचसहित काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
एमाले पार्टी आदिवासी जनजातिका पक्षमा नीतिगत रुपमा प्रतिबद्ध पहिलो पार्टी भएको स्मरण गराउँदै महासचिव पोखरेलले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले नेपालमा इतिहास लेखन र विश्लेषणको नयाँ ढोका खोलेको उल्लेख गर्नुभयो। उहाँका अनुसार, “पुष्पलालकै मार्गचित्रले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको जग बसाल्यो र आदिवासी जनजातिको पहिचानको ढोका खोल्यो।”
कार्यक्रममा महासचिव पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषय पेचिलो बन्दै गएको चर्चा गर्दै पार्टीको केन्द्रीय कमिटी बैठकले उहाँको सदस्यता नवीकरण नगर्ने निर्णयमा पुगेको जानकारी पनि दिनुभयो।
महासङ्घका अध्यक्ष पासाङ शेर्पाले आदिवासी जनजातिले पार्टी निर्माणमा खेलेको भूमिका स्मरण गर्दै पार्टीले यिनै समुदायका हकअधिकार र मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो।