• Jana Kura

  • 2025-06-23

काभ्रेपलाञ्चोक, ९ असार । लामो प्रतिक्षापछि काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका हजारौँ बासिन्दाको घरआँगनमा खानेपानीको धारा पुगेको छ। पाँचखाल–सुनकोसी खानेपानी आयोजनाको निर्माण सम्पन्न भएसँगै गत शनिबारदेखि ६ हजार परिवारका करिब ३१ हजार सदस्यले स्वच्छ पिउने पानीको सुविधा पाएका छन्।

उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेका अनुसार, विभिन्न परीक्षणहरू सफल भएपछि आयोजनाले एकैपटक सबै घरधुरीमा पानी वितरण सुरु गरेको हो। सुनकोसी नदीबाट ल्याइएको पानीलाई पाँचखाल-९, डाँडागाउँस्थित ३९ लाख लिटर क्षमताको प्रशोधन केन्द्रमा प्रशोधन गरी वितरण गरिएको छ। “स्रोतबाट प्रतिसेकेन्ड ८४ लिटर पानी तानेर उपभोक्ताको घरसम्म पुऱ्याइएको छ। वितरणका क्रममा कुनै समस्या देखिएमा तत्काल जानकारी गराउन हामीले सार्वजनिक सूचना जारी गरेका छौँ,” लामिछानेले भने।

यो आयोजनाले अनेकौँ बाधा-अड्चन पार गर्दै सफलता पाएको हो। कोरोना महामारी, मेलम्ची बाढी र विशेषगरी गत असोजमा आएको बाढीपहिरोले आयोजनामा ठूलो क्षति पुर्‍याएको थियो। बाढीले आयोजनाको मुहान क्षेत्र डुबानमा पार्नुका साथै वितरण पाइपलाइन र अन्य संरचनामा करिब १ करोड ७० लाख रुपैयाँ बराबरको क्षति पुगेपछि आयोजनाको काम पछि धकेलिएको थियो।

रु. १ अर्ब ४७ करोडभन्दा बढीको लागतमा निर्माण भएको यस आयोजना अन्तर्गत सुनकोसी किनारमा ६ वटा इनार, विभिन्न क्षमताका सङ्कलन र वितरण ट्याङ्कीहरू, तथा करिब २६० किलोमिटर लामो मुख्य र शाखा पाइपलाइन बिछ्याइएको छ।

यो आयोजना नेपाल सरकार, दातृ निकाय र स्थानीय उपभोक्ताको संयुक्त लगानीमा सम्पन्न भएको हो। कुल लागतको ५ प्रतिशत अर्थात् रु. ११ करोडभन्दा बढी रकम उपभोक्ताबाट सङ्कलन गरिएको थियो, जसका लागि प्रत्येक परिवारले रु. १८ हजार योगदान गरेका थिए। आयोजनालाई सफल पार्न २१४ विपन्न परिवारले स्थानीय सहकारी संस्थाबाट ऋण लिएर आफ्नो हिस्सा जम्मा गरेका थिए।

२०७७ साल असारमा सुरु भएको यो आयोजनाले अबको २० वर्षपछिको जनसंख्यालाई समेत ध्यानमा राखेको छ। हाल ३१ हजारभन्दा बढी नागरिक लाभान्वित भएकोमा सन् २०४० सम्ममा यसबाट ४५ हजार नागरिकले सेवा पाउने प्रक्षेपण गरिएको छ। आयोजनाको औपचारिक उद्घाटन भने हुन बाँकी रहेको समितिले जनाएको छ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै